अव मृगौलाको उपचार बुटवल मै

कृष्ण खनाल
बुटवल, १२ मंसिर । 
 के तपाईंकोे मृगौलामा समस्या छ ? यदि छ भने यसको उपचारको लागि राजधानी धाउनुपर्ने बाध्यता तपाईंको हटेको छ । नेपालमा एक मात्र राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा काठमाण्डौमा मात्र मृगौला रोगको उपचार हुने गर्दछ । तर राजधानी बाहिर पहिलो पटक बुटवलमा मृगौला रोगको उपचार केन्द्र स्थापना हुने भएको छ ।  जसको कारण मृगौलाको उपचारको लागि राजधानी वा अन्य विदेशमा जानुपर्ने बाध्याता टर्ने छ । 
गौतम बुद्ध सामुदायिक स्वाथ्य संस्थाले यस क्षेत्रमा नै पहिलो पटक मृगौला उपचार केन्द्र स्थापना गर्न लागेको हो  । संस्थाका अध्यक्ष एजाज आलमका अनुसार २०७० पुस १० गते बाट संस्थाले ‘गौतम बुद्ध सामुदायिक मुटु अस्पताल’ स्थापन गरि अहिले सञ्चालन गरिरहेको छ । सोही अस्पतालसंगै सटेको घरमा ‘मृगौला उपचार केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको हो । 
बुटवल–१२ रामनगरमा अहिले उपचार केन्द्रको लागि डेकोरेसनको काम जारी रहेको छ । अध्यक्ष आलमले भने–‘रोटरी क्लव अफ बुटवल साउथ संगको सहकार्यमा हामीले यो यात्राको सुरुवात गरेका हौ ।’ उनले  गौतम बुद्ध  सामुदायिक मुटु अस्पताल रुपन्देही उद्योग संघ र रोटरी क्लव बुटवल डाउनटाउनको सहकार्यमा सुरु गरिएको भन्दै अव मृगौला उपचार केन्द्रमा रोटरी क्लव  अफ बुटवल साउथको साथ रहेको जानकारी दिए । 
यस क्षेत्रमा नै पहिलो पटक स्थापना  गर्न लागिएको मृगौला  रोग उपचार केन्द्रले यस क्षेत्रका मानिसहरुलाई काठमाण्डौ जानुपर्ने बाध्याता टर्नुको साथै सुलभ दरमा यस क्षेत्रमै उपचार  संभव रहेको बताए । गैर नाफामुखि संस्थाको रुपमा रहेको गौतम बुद्ध सामुदायिक संस्थाले विशुद्ध सामाजिक क्षेत्रको हितको लागि यो कार्यको सुरुवात गरेको उनको भनाई रहेको छ । 
अवको करिव १०÷१५ दिनमा मृगौलाको उपचारको लागि आवश्यक मेसिन आउने र त्यसपश्चात मृगौलाको उपचार कार्य सुरु हुने संस्थाले जनाएको छ ।  करिव डेढ करोडको लागतमा उक्त उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । 
उता, गौतम बुद्ध सामुदायिक स्वाथ्य संस्था संग मृगौला उपचार केन्द्र सञ्चालनको लागि सहकार्य गरेको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष राम बहादुर कार्कीले रोटरी क्लवले विभिन्न समयमा सामाजिक क्षेत्रमा कार्य गर्दैै आएकोमा यसपटक यस क्षेत्रमा नै नभएको  मृगौला रोगको उपचार केन्द्र स्थापनाको लागि विशुद्ध सामाजिक सेवा भावले सहकार्य भएको बताए । उनले भने–‘रोटरी क्लवको स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराको साथ, मेघा पोजेक्टको रुपमा अगाडी सारिएको हो ।’
क्लवका संस्थापक अध्यक्ष आर.सी.आचार्यले मानिस मरेर जाँदा लैजाने केही लगेर नजाने भन्दै बाच्दा सम्म सामाजिक क्षेत्रमा काम गर्ने हेतुले मृगौला रोगको उपचारको लागि सहकार्य भएको बताए । 
बुटवल १२ रामनगरमा रहको गौतम बुद्ध मुटु अस्पताल स्थापनाको एक बर्षमा ९ हजार २ सय जनाको उपचार गरेको छ । अस्पतालमा हाल १ जना डि.एम, २ जना एम.डि.लगायत ८५ जना कर्मचारीले सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पतालका निर्देशक डा. समिर गौतमका अनुसार मुटु रोग मात्र नभई मृगौलाको समेत उपचार यसै क्षेत्रमा उपलब्ध हुँदा सर्वसाधारणहरु लाभांवित हुने अपेक्षा लिएको बताए । उनले भने–‘मुटु रोग मात्र होईन, मृगौलाको पनि उपचार यसै क्षेत्रमा हुने भएपछि धेरै मानिसहरुले यसको लाभ लिनुहुनेछ भन्ने हाम्रो आशा रहेको छ ।’
यसैविच, रुपन्देही उद्योग संघको ३७ औं स्थापना एवं औद्योगिक दिवस २०७१ को अवसरमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले यही मंसीर १४ गते निःशुल्क ओ.पि.डी. टिकटको सुविधा प्रदान गर्ने भएको छ । सोही अवसरमा अस्पतालले आगामी मंसीर १५ गते देबदहमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ ।  रोटरी क्लव अफ बुटवल साउथले सहयोगी संस्थाको रुपमा सहकार्य गर्न सहमती भएको अस्पतालका सचिव तथा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए । अहिले अस्पतालमा मुटु, दम लगायतका विशेषज्ञ सेवाहरु उपलब्ध छन् । 
साउथ र संस्थाविच सहकार्य
बुटवल, १२ मंसिर । यस क्षेत्रमा पहिलो पटक सञ्चालन हुन लागेको मृगौला उपचार केन्द्रको लागि गौतम बुद्ध सामुदायिक स्वथ्य संस्था र रोटरी क्लव अफ बुटवल साउथका विचमा  सहकार्य हुने भएको छ । शुक्रवार  गौतम बुद्ध मुटु अस्पताल बुटवल–१२  रामनगरमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्र हस्ताक्षर तथा आदान प्रदान कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष एजाज आलमको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव बुटवल साउथका अध्यक्ष राम बहादुर गुरुङ्ग र संस्थाका अध्यक्ष आलमले सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी, रोटरी क्लव बुटवल साउथका संस्थापक अध्यक्ष डा. आर.सी .आचार्य, रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष तेज कुमार पाठक, गौतम बुद्ध मुटु अस्पतालका निर्देशक डा. शमिर गौतम लगायतले शुभकामना मन्तव्य रहेका थिए ।  कार्यक्रम गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका कोषाध्यक्ष गणेश अधिकारीको धन्यावाद ज्ञापन र सचिव दिनेशराज रेग्मीको सञ्चालनमा भएको थियो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै