सन्र्दभः १३ औं राष्ट्रिय धान दिवस: खुम्चीदै धान खेती क्षेत्र


कृष्ण खनाल
बुटवल, १४ असार ।

आज देशभर ‘व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय धान दिवस मनाईदै छ । धान खेतीलाई नेपालको प्रमुख खाद्यान्न बालिको रुपमा लिईन्छ । तर देशभर विभिन्न प्रकृतिको कारण धान खेती क्षेत्र कम हुदै गएको छ ।  आर्थिक बर्ष २०४८÷०४९ सालमा रुपन्देहीमा कुल ६४ हजार ४ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । सोही आर्थिक बर्षमा जिल्लामा कुल १ लाख २१ हजार ७ सय १  मेट्रिक टन धान उत्पादन भएको थियो । २० बर्षको तथ्यांकलाई केलाउदा रुपन्देहीमा धान उत्पादन हुने क्षेत्रफल आर्थिक बर्ष २०६२÷०६३ मा धान खेती हुने क्षेत्रफल ह्वात्तै घटेको छ । उक्त  आर्थिक बर्षको अघिल्लो आर्थिक बर्ष २०६१÷०६२ मा कुल ७३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती भई कुल २ लाख २५ हजार ४ सय ५६ मेट्रिक टन धान उत्पादन भएको थियो । 
तर आर्थिक बर्ष २०६२÷०६३ मा अघिल्लो बर्षको तुलनामा ७ हजार २ सय २० हेक्टर जमिनमा धान खेती हुन छाडेको छ । सो आर्थिक बर्षमा कुल ६५ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा मात्र धान खेती भएको छ । जसबाट कुल १ लाख ५९ हजार ६ सय ३५ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 

अर्को आर्थिक बर्ष २०६३÷०६४ मा धान खेती गर्ने केही क्षेत्रफल बृद्धि भएको छ । कुल ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेतीबाट २ लाख ५३ हजार ७  सय ५० मेट्रिक टन धान  उत्पादन भएको छ । 
त्यस पछि आर्थिक बर्ष २०६५÷६६ मा केही धान उत्पादन राम्रो भएको छ । मौसमले साथ दिएको कारण सो आर्थिक बर्षमा साविककै क्षेत्रफलमा धान खेती भएकोमा २ लाख ८० हजार ५ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ ।  आर्थिक बर्ष २०६४÷०६५ देखि अघिल्लो आर्थिक बर्ष २०७०÷०७१ सम्म रुपन्देहीमा कुल ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुदै आएको छ ।  जग्गा प्लटिङ्ग, धान खेती भन्दा पनि बढि अन्य नगदेवाली हुन थालेपछि  धान खेती गर्ने थलो विस्तारै खुम्चीदै गएको छ ।  सिमिति क्षेत्रफलमा धान खेती गरी बढि भन्दा बढि उत्पादन गर्नुपर्ने बाध्यता किसानहरु संग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । अव धान खेतीको उत्पादन बृद्धिका लागि आधुनिकखेती प्रणाली अबलम्बन  गर्नुको साथै जग्गा चाक्लाबन्दी गरेर खेती गर्नुको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् । उनी भन्छन्–‘अव धान खेतीको उत्पादन वृद्धिको लागि सामुहिक खेती प्रणाली अबलम्बन गर्नु र जग्गालाई चाक्लाबन्दी गरी आधुनिक मेसिन तथा उपकरण प्रयोग गर्नुको विकल्प छैन ।’ 
आर्थिक बर्ष २०६७÷०६८ मा रुपन्देहीमा केही धान उत्पादन बृद्धि भएको छ । उक्त आर्थिक बर्षमा साविककै क्षेत्रफलमा धान खेती  लगाइएकोमा कुल ३ लाख ४४ हजार ४ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै अर्को आर्थिक बर्षमा २ लाख २१ हजार ४ सय ८० मेट्रिक टनमा झरेको छ । जुन आर्थिक बर्ष २०७०÷०७१ मा पनि सोही कायम रहेको पाइएको छ ।
जिल्ला कृषि विकास  कार्यालय रुपन्देहीका  कृषि प्रसार अधिकृत नविन भण्डारीका अनुसार गत आर्थिक बर्ष अघिल्लो बर्षको भन्दा कम कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  भएको छ । जसबाट कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ । जुन तथ्यांक अघिल्लो आर्थिक बर्षको भन्दा  उत्पादनमा  ९.१७ प्रतिशत र क्षेत्रफलकामा कुल १.२८ प्रतिशत कमी हो । 
मध्य असार सम्म २५ प्रतिशत रोपाईं
रुपन्देहीमा आसार १५ सम्म करिव २५ प्रतिशत क्षेत्रमा मात्र रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार सिंचाईको लागि बर्षैभरी पहुँच भएको क्षेत्रमा धान रोपाई काम सम्पन्न भएको छ भने धान खेतीको लागि पम्सेटबाट पानी तानेर होस् या अकासे पानीको भरमा धान खेती गर्ने किसानहरुले भने अझै धान खेती गर्न सकेका छैनन् । 
डि.ए.पी. मलको चरम अभाव
रुपन्देहीमा धान खेती गर्ने समयमा किसानहरुले चरम डिएपी मलको अभाव भोग्न बाध्य छन् । धान खेती लगाउने बेला पहिल्यै हिलोमा नै छर्नुपर्ने डिएपी मलको वितरणको जिम्मा पाएको कृषि विउ विजन कम्पनी लिमिटेडले समयमा नै मल उपलब्ध गराउन नसक्दा किसानहरु मारमा परेका हुन । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले कृषि  विउ विजन कम्पनी लिमिटेडबाट अनुदानको रुपमा उपलब्ध गराउने डिएपी मल उपलब्ध गराउन नसकेकपछि अहिले  कपिलबस्तु जिल्लाको बहादुर गञ्जको गोदाममा रहेको मल ल्याएर रुपन्देहीमा विक्रि वितरण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रुपन्देहीको सुर्यपुराका किसान नारदमुनी यादवले डिएपी मलको अभावको कारण आफु मर्कामा परेको बताउछन् । उनी भन्छन्–‘मल अभावको कारण धान रोप्न अफ्ठारो परेको छ ।’
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद ज्ञवालीले भने–‘मलको चर्को  अभाव भएको कारण बहादुरगञ्जमा रहेको कम्पनीको गोदामबाट ल्याएर भएपनि वितरण गर्ने परिपाटी कार्यालयले मिलाएको छ ।’ कृषि कम्पनी लिमिटेडले समयमा नै मल आयातको लागि ठेक्का प्रक्रिया ढिलो हुँदा किसानहरुले समयमा नै मल पाउन नसकेको  जनाइएको छ । अहिले जिल्ला कृषि विकास कार्यालयले मल वितरण गर्ने सहकारी संस्था या समुहलाई कृष्णनगरदेखि विभिन्न स्थानको भाडा समेत व्यवस्थापन गरि मल वितरणको व्यवस्थापन मिलाएको छ । 
धान उत्पादन बृद्धि गर्न सामुदायिक नर्सरी योजना
समयमा नै पानी  नपरेको कारण विउ राख्न नपाएका रुपन्देहीका केही  किसानहरुलाई राहात प्रदान गर्नको लागि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले सामुदायिक विउ उत्पादनको लागि सामुदायिक नर्सरी योजना अगाडी बढाएको छ । यस पटक करिव ५ कठ्ठा जग्गामा  सामुदायिक नर्सरीको अभ्यास गरिएकोमा यस्तै प्रकृतिको नर्सर अन्य स्थानमा समेत स्थापना गर्ने योजना अगाडी बढाएको छ । विभिन्न ४ तहमा एकै स्थानमा करिव १ विघामा धानको विउ राखेमा करिव १० विघा सम्मको लागि पुग्ने गरी विउ राख्न सकिन्छ । जसबाट यान्त्रीकरण गरी विउ रोप्न सकेमा किसानको लागत समेत कम भई उत्पादकत्वमा समेत वृद्धि हुन गर्न सकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा भन्छन्–‘अवको योजना भनेको उत्पादन लागत कम गरी उत्पादकत्व बृद्धि गर्नुको विकल्प छैन  ।’  सामुदायिक नर्सरीमा उत्पानदन भएको बेर्ना १५ देखि २० दिन भित्रमा रोपी सक्नुपर्दछ । यस बर्ष १० विघा क्षेत्रफलमा यस्तो प्रकृतिको बेर्ना रोपीएकोमा अर्को पटक करिव ५० देखि ६० विघा सम्ममा रोप्ने योजना अगाडी बढाइएको छ । 
कपिलवस्तुमा खेती योग्य जमिन घटदै, उत्पादन बढदै
कपिलवस्तु जिल्लामा अन्य जिल्लाजस्तै खेतीयोग्य जमिन घटने क्रम रहे पनि धान उत्पादन भने बढदो क्रममा रहेको छ । जिल्ला कृषी बिकास कार्यालय कपिलवस्तुको पछिल्लो पाँच बर्ष यताको तथ्याङ्गकले सो तथ्यलाई पुष्टयाई गरेको छ । 
जिल्लामा कुल ८३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ७२ हजार हेक्टर जग्गाको क्षेत्रफलमा धान खेती हुदै आएको देखिएको छ । आर्थिक बर्ष २०६७÷६८ मा जिल्लाका ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ४४ हजार ८ सय मेट्रिक टन, २०६८÷६९ मा जिल्लाका ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ९ हजार ३ सय ४ मेट्रिक टन र २०६९÷७० मा जिल्लाका ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ५ हजार १ सय १८ मेट्रिक टन भएको देखिएको छ ।
 त्यसै गरि आब २०७०÷७१ मा जिल्लाका ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ३५ हजार ४ सय ३६ मेट्रिक टन र २०७१÷७२ मा जिल्लाका ६९ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ४० हजार ९ सय ४८ मेट्रिक टन भएको जिल्ला कृषी कार्यालय कपिलवस्तुको बाली बिकास शाखाको तथ्याङ्कले देखाएको छ । पाँच बर्ष अघि आब २०६७÷६८ मा जिल्लाको धान उत्पादन प्रति हेक्टर ३ दशमलब ४ मेट्रिक टन रहेकोमा अहिले उत्पादनमा बृद्धि भै ३ दशमलब ४५ मेट्रिक टन पुगेको देखिएको छ । 
उन्नत मल बिउको प्रयोगमा बृद्धि, उन्नत प्रबिधीको प्रयोगमा बृद्धि, रासायनिक मलको उपलब्धता, सिचाईको उपलब्धता सगै मौसमको समेत अनुकुलताले बर्षेनी धान उत्पादनमा बृद्धि आउन थालेको जिल्ला कृषी बिकास कार्यालय कपिलवस्तुका प्रमुख बरिष्ठ कृषी बिकास अधिकृत राकेश कुमार ओझाले बताए । “ यस बर्ष अषाढको पहिलो साता बाटै मनसुन सक्रिय भएको छ । समयमै रोपाई सकिए यस बर्ष पनि धान उत्पादनको सम्भाव्यतामा बृद्धि आएको छ । ” ओझाले भने । 
पाल्पामा ३० हजार ५ सय मेट्रिक टन धान उत्पादन
पाल्पा जिल्लामा यस बर्ष असारे रोपाईं खासै भएको छैन । जिल्ला कृषि विकास कार्यालय पाल्पाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोईरालाका अनुसार पाल्पामा गत बर्ष कुल ८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । जसबाट ३० हजार ५ सय मेट्रिक टन धान मात्र उत्पादन भएको छ । 
नवलपरासी मा ४० प्रतिशत रोपाई
मध्यअसार सम्म रुपन्देहीमा ४० प्रतिशत रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय नवलपरासीका अनुसार नवलपरासीमा कुल ४६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । 
अर्घाखाँचीमा ३ सय ४५ हेक्टर बाँझै 
जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा धान उत्पादन हुने क्षेत्र क्रमस कम हुदै गएको छ ।  कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलका अनुसार आर्थिक बर्ष २०६७÷०६८  कुल २३ हजार ३ सय ६८.५८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आर्थिक बर्ष ०६८÷०६९ मा कुल २७ हजार २ सय ५.५८ मेट्रिक टन,०६९÷०७०मा २४ हजार ४ सय ९० मेट्रिक टन, ०७०÷०७१मा २५ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । गत आर्थिक बर्षमा कुल २३ हजार ३ सय ४५ मेट्रिक टन धान उत्पादन भएको छ । यस बर्ष मौस अनुकुल भएको कारण केही  धान उत्पादन बढ्ने अनुमान कार्यालयले गरेको छ । 
 कार्यालय प्रमुख खरेलका खनुसार जिल्लाको धान उत्पादन घट्नुको कारण सडक निर्माण गर्दा मुल भत्तिएर सिंचाही अभावले, खेतीयोग्य जमिनमा घरघडेरी निर्माण गर्नु नै प्रमुख कारण रहेको छ ।  अर्घाखाँचीमा गत बर्ष ३ सय ४५ हेक्टर गतवर्ष खेत बाझै रहेका थियो जसको कारणले पनि धान उत्पादनमा कमी आएको छ । जिल्लामा असार १५ सम्म करिव १२ प्रतिशत रोपाई भएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै