कृषिमा अनुदानः किसानलाई पोत्साहन

कृष्ण खनाल
बुटवल, ३१ बैशाख ।
रुपन्देहीको पश्चिम अमुवा गाविस–७ पुर्नियाका किसान शन्तराम चौधरीले केही बर्ष अघि परिवारमा उपभोगको लागि माछा पालन गर्दै आएका थिए । व्यवसायीक रुपमा माछापालनको लागि सोच बनाएका भएपनि उनले यसमा हात हाल्न सकेका थिएन् । आफ्नो जमिन जग्गा नभएको कारण चौधरी थप समस्यामा थिए । 
पहिला एक दुई वटा माछा पोखरीनिर्माण गरी मत्त्यपालन गर्दै आएका चौधरीले अहिले भने व्यवसायीक रुपमा माछाको भुरा उत्पादन गर्दै आएका छन् । बार्षिक १ लाख २५ हजार रुपैयाँ भडा सम्झौता  गरी  उनले‘ नोट बहादुर ह्याचरी माछा फर्म’ नै स्थापना गरेर व्यवायीक रुपमा माछाको भुरा उत्पादन गर्दै आएका छन् । जसको लागि उनको सहयोगीको रुपमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले भुमिका खेलेको छ । करिव ३ बर्ष पहिला व्यवसायीक माछा ह्याचरी फर्म स्थापना गरेका चौधरीलाई  ह्याचरीको सेड, ओभरहेड टैंकी, छाना निर्माणको लागि १ लाख रुपैया  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अनुदान प्रदान गरेको छ । उनी भन्छन्–‘आफ्नो जग्गा छैन, भाडामा जग्गा लिएर, अनुदान पाएको रकमबाट केही आशा जागेर यो काम सुरु गरेको हुँ ।’ 
 दुई विघा क्षेत्रफलमा ह्याचरी निर्माण गरी उनले कमन, ग्रास, सिल्भर ग्रास, नौनी लगायतका सबै प्रजातीका माछाका भुरा उत्पादन गर्दै आएका छन् । रुपन्देही, नवलपरासी, कपिलवस्तुबाट समेत माछाको भुरा लिनको लगि कृषकहरु आउने गरेको उनको भनाई रहेको छ ।   जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट पाएको १ लाख र अफ्नो ६० हजार गरी कुल १ लाख ६० हजार रुपैयाँमा ह्याचरीको लागि आवश्यक पर्ने सेड निर्माण गरेको उनको भनाई रहेको छ ।
३ लाख रुपैया लगानीबाट सुरु गरेका उनको ह्याचरीले एक सिजनमा करिव १० देखि १५ लाख माछाको भुरा उत्पादन गर्दै  आएका छन् । विशेष प्रविधिमार्फत माछामा सुई लगाएपछि त्यसले छोड्ने अण्डामा पुन सुई लगाएको भाले माछा पठाएपछि माछाको भुरा उत्पादन  प्रक्रिया  सुरु हुन्छ । अण्डा छोडेको करिव २० दिनमा माछाको भुरा तयारी हुने र एउटा भुराको एक  रुपैयाको दरले विक्रि वितरण गर्दै आएको चौधरीले जानकारी दिए ।  एक सिजनमा करिव ४ लाख रुपैया सम्मको कारोवार हुने गरेको बताउदै उनले सोही अनुपातमा आम्दानी हुने बताउछन् । 

रुपन्देहीको मानमटेरिया गाविस–४ मा राधाकृष्ण कृषि विउ उत्पादक समुह रहेको छ । वि.स.२०५९ सालमा स्थापना भएको राधाकृष्ण विउ उत्पादक कृषक समुहका सचिव रमेश चन्द्र मिश्रका अनुसार किसानहरुले ३० बोरा धान जम्मा गरेर विउ ग्रेडेङ्गको काम सुरुवात गरेका थिए । धान, गहु, घैचा(हरियोमल), मुसुरो, तोरी लगायतका विउ उत्पादन गरी विक्रि वितरण गर्दै आएको उक्त समुहले ३ लाख रुपैया अनुदानमा गोदाम घर निर्माण गरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको अनुदानमा निर्माण गरिएको गोदामा घरमा किसानहरुकाट संकलन गरी प्रसोधन गरिएको विभिन्न प्रकृतिको विउ राखिने गरिएको  समुहका सचिव रमेशचन्द्र मिश्र बताउछन् । उनी भन्छन्–‘अनुदान पाईयो जसबाट केही भएपनि राहत मिलेको छ ।’
धान र गहुँको विउ बढि मात्रमा उत्पादन गरि विक्रि वितरण गर्दै आएको उक्त समुहले विउ ग्रेडिङ्ग मेसिन, स्पेयर मेसीन, कुल स्पेयर मेसीन समेत जडान गरेको छ । प्रोसेसिङ्ग मेसिन भाडमा लिएर सञ्चालन गर्दै आएको छ । बार्षिक रुपमा करिव ५० क्वीन्टल बराबरको धान विक्रि वितरण गर्दै आएको छ । किसानको लागि घर दैलोमा समेत पुगेर धान, गहु लगायतका उत्पादीत विउ पु¥याउने गरी काम समुहले गर्दै आएको छ । समुहमा ३० जना किसानहरु आवद्व रहेका छन् भने महिलाहरुको संख्या ६ जना रहेको छ । 
रुपन्देहीको गडेजी  गाविसमा  जिल्लाकै नमुना च्याउ फर्म सञ्चालन गरेका किसान गंगाधर शर्मालाई पनि जिल्ला कृषि विकास कार्यालयको अनुदानले थप उत्साह थपेको छ  ।‘स्पीन्जर च्याउ फर्म’ नाम दिएर सञ्चालनमा आएको  उक्त च्याउ फर्मले सिजनको महिना कार्तिक, मंसिर, पुस र माघ महिनामा व्यवसवायीक रुपमा च्याउ उत्पादन गर्दै आएको छ । गत आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालयबाट ४० हजार रुपैयाँ अनुदान पाएको र यसबाट टनेल निर्माण गरिएको स्पीन्जर च्याउ फर्मका प्रबन्ध सञ्चालक राजन शर्मा बताउछन् । उनी भन्छन्–‘अनुदानको रकमले मात्र के हुन्थ्योर? केही भएपनि राहत प्राप्त भयो ।’ अहिले च्याउको सिजन नभएपनि टनेल निर्माण गर्ने र व्यवसायीक रुपमा च्याउ फर्म सञ्चालन गर्ने गरी धामाधम काम भै रहेको प्रबन्ध सञ्चालन शर्माको भनाई रहेको छ । वि.स.२०६९ सालमा च्याउ फर्म स्थापना गरेका शर्मापरिवारले अवको योजनामा व्यवसायीक रुपमा नै मिल्की च्याउ उत्पादन गर्ने योजना बनाएको छ । 
कन्ये, बोक्रे, मिल्की लगायतका विभिन्न प्रजातीको च्याउ उत्पादन गर्दै आएको फर्म करिव ९० हजार रुपैयाँ लागतबाट सुरुवात गरिएको हो । अहिले करिव १८ लाख रुपैया बराबारको पुँजी निर्माण गर्न सफल भएको प्रबन्ध सञ्चालक शर्माको भनाई रहेको छ । युवा अवस्थामा नै च्याउको व्यवसायीक फर्म सञ्चालन गरी व्यवस्थापनमा लागेका शर्मा भन्छन्–‘कृषिमा संभावना छ, मेहिनेत गर्ने हो भने यहि पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’ अहिले १४ वटा टनेल निर्माण गरिएको र निकट भविश्यमा जिल्ला कृषि विकास कार्यालयको अनुदान तथा सहयोग प्राप्त भएमा रुपन्देहीमै सबै प्रकृतिको च्याउको  विउ उत्पादन गर्ने लक्ष्य लिएको फर्म सञ्चालक शर्माको भनाई रहेको छ । जसको लागि जिल्ला कृषि विकास कार्यालयबाट सहयोगको अपेक्षा गरेका छन् । 
यि प्रतिनिधि उदाहरणमात्र हुन । रुपन्देहीमा गोनाह गाविस–६ का किसान अजय यादवले सञ्चालन गरेको केरा नर्सरी, पन्नेलाल केवटले सुर्यपुरामा लगाएको तरकारी खेती, गणेश  गाह अध्यक्ष रहेको मोतिपुर कृषि विउ उत्पादक  संस्थाले सञ्चालनमा ल्याएको विउ प्रसोधन तथा भण्डारण केन्द्र, अजय चौधरीले पालन गरेको गंगोलियाको माछा फर्म, सेतुवान रोमेश्वर पाले मैनहियामा पालेको मौरी फर्ममा पनि जिल्ला कृषि विकास कार्यालयले अनुदान स्वरुप विभिनन प्रकृतिले लगानी गरेको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक बर्षमा किसानले करिव  ४ करोड रुपैयाँ अनुदान स्वरुप विनियोजना भएको थियो । सोही अनुरुप किसानलाई कृषि औजार–उपकरण,विउ विजन, मलखाद खरिद देखि लिएर युवा लक्षित कार्यक्रम अन्र्तगत विभिन्न व्यवसाय सञ्चालन र प्रर्वद्र्धनको लागि उक्त रकम प्रदान गर्ने कार्य जारी रहेको छ कतिपय शिर्षकको रकम भने प्रदान गरिसकिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकोमा कुल बजेटको ६४.७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजित भएको कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए । 
 चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ६ वटा शिर्षकमा किसानलाई अनुदान उपलब्ध गराएको हो ।  कृषि प्रसार कार्याक्रम अन्र्तगत  सबै भन्दा बढि १ करोड ८० लाख रुपैयाँ कृषकलाई अनुदानको रुपमा उलब्ध गराउन लागिएको छ । त्यस्तै सहकारी खेती साना सिंचाही कार्यक्रमको लागि ४८ लाख ९० हजार, विशेष कृषि कार्यक्रम अन्र्तगत ५३ लाख ४० हजार, सोही कार्यक्रममा प्रागंकारीक मलमा अनुदान सहयोग कार्यक्रम ३० लाख, भकारो सुधार तथा भर्मिकम्पोष्ट निर्माण सहयोग २३ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनेक्रम जारी छ । 
त्यस्तै बालि विकास कार्यक्रममा ४९ लाख ८४ हजार सोही शिर्षकमा मसिना तथा बासनदार धान उत्पादन प्रवद्र्धन कार्यक्रममा कुल ३४ लाख ४३ हजार, वृहत्तर धान उत्पादन कार्यक्रममा २६ हजार, अभियान मुखी तेलहन उत्पादन आयोजनामा कुल १५ लाख १२ हजार रुपैयाँ ,आलु  तरकारी तथा मसलावाली विकास कार्यक्रममा कुल ४२ लाख ८४ हजार रुपैयाँ विनियोजन भएको छ ।  सोही शिर्षक अन्र्तगत युवा लक्षित व्यवसायीक तरकारी उत्पादन कार्यक्रममा ३७ लाख ६० हजार, विउ आलु आत्मनिर्भर कार्यक्रममा कुल ५ लाख २६ हजार विनियोजन गरिएको छ । एकिकृत वाली  तथा जल व्यवस्थापन कार्यक्रममा कुल १८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । 
‘जिल्ला कृषि विकास कार्यालयको प्रमुख उदेश्यमा कृषि प्रसारका  बिभिन्न शैक्षिक तरीकाको माध्यमबाट परम्परागत निर्वाहमुखी कृषि उत्पादन प्रणालीलाई विबिधिकरण गरी मर्यादित, प्रतिस्पर्धी एवं ब्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने रहेको छ ।’–जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा भन्छन् । 
उनी थप्छन्–‘कृषि जन्य उत्पादनको परिमणात्मक एवं गुणात्मक बृद्धि गरी जिल्लालाई  आत्मनिर्भर गराउनुका साथै उच्च मूल्यवान बाली÷बस्तुहरुको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गर्ने, कृषिको ब्यवसायिकरण एवं औद्योगिकरणका माध्यमबाट आय आर्जन तथा उत्पादनशिल रोजगारका अवसरहरु बृद्धि गरी जिवनस्तरमा सुधार ल्याउने र गरीबी न्यूनिकरणमा टेवा पु¥याउने  रहेको छ ।’
अघिल्लो आर्थिक बर्ष बर्ष जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कुल बजेट ७ करोड, १२ लाख २२ हजार रुपैयाँ रहेको थियो । रुपन्देही जिल्लामा कुल ८२ हजार ६  सय २२ हेक्टर क्षेत्रफल खेती गर्न  योग्य मानिन्छ । तर यसमा कुल खेती योग्य जमिनको ९६.९७ अर्थात कुल ८० हजार १ सय २२ हेक्टर भुमिमा खेती गरिएको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत विनोद पराजुलीका अनुसार कुल ५७ हजार ९ सय ८९ हेक्टर क्षेत्रफल सिंचाहीको पहुचमा रहेको मा बर्षभरी सिंचाही हुने  भुमी कुल १२.८८ प्रतिशत अर्थात १० हजार ३  सय २२ हेक्टर मात्र रहेको छ , अन्य भुमीमा आशिंक रुपमा  मात्र सिंचाहीको व्यवस्था रहेको छ । पछिल्लो समयमा सृजना भएको विषम परिस्थीतिले इन्धन अभाव हुँदा कृषकहरुको खेतमा पाकिरहेको धान कटनी एवम् चुटानी गर्न एवम् हिउंदे बालीको लागि जग्गा गयारी गर्न कृषि यन्त्रहरुको प्रयोग गर्न ठूलो समस्या परिरहेकोछ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती