कृषिलाई यान्त्रीकरण गरी आत्मनिर्भर बन्न सकिन्छ

भुवनपोखरी गाविस–३ पाल्पामा जन्मीएका विनोद ज्ञवालीले प्राथमिक शिक्षा भुवनपोखरी ३ पाल्पाबाट पुरा गरे । माध्यमिक तहको शिक्षा बलेटक्सार–५ गुल्मीमा पुरा गरी कृषि स्नातक र स्नाकोत्तर तह कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर पाल्पाबाट पुरा गरे । वि.स.२०७०साल असार महिनाबाट बर्दिया जिल्लाको बाली विकास अधिकृतमा स्थायी जागिरखाएका  ज्ञवाली अहिले जिल्ला कृषि विकास कार्यालय रुपन्देहीमा बालि विकास अधिकृतको रुपमा रहेका छन् । तिनै अधिकृत ज्ञवाली संग रुपन्देहीको समग्र कृषि क्षेत्रको विषयमा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी  । 

रुपन्देहीमा वालि विकासको अवस्था कस्तो छ? 
–यो जिल्ला कृषि उत्पादनका लागी उर्वर भुमी हो । करिब ८२६२२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ ।  धान र गहुँ यस जिल्लाको प्रमुख बालीहरु हुन । यस जिल्लामा ६९६०० हेक्टर क्षेत्रफलमा धान लगाई करिब ४.६ मे.टन प्रति हेक्टर उत्पादन भएको छ । माटोको स्वास्थ अवस्था सुधार गर्न सकेमा हाल रहेको उत्पादन तथा उत्पादकत्वलाई अझै बृद्धि गर्न सकिने छ । गहुँबाली करिब २९६०० हे. क्षेत्रफलमा लगाइएको छ । यस बर्ष करिब ८० हजार मे.टन गहुँको उत्पादन हुने अनुमान गरिएको छ । गत बर्षको रेकर्ड अनुसार यस जिल्लामा जम्मा उत्पादन भएको खाद्यान्न मध्ये ३४ प्रतिशत खाद्यान्न बचत हुन्छ र अन्य जिल्लाहरुमा निर्यात पनि गरिन्छ । माटोको उचित व्यवस्थापन हुन नसक्दा माटोको अवस्था दिन प्रतिदिन विग्रिदै गएको हुनाले माटो व्यवस्थापनका लागी दिर्घकालिन सोचका साथ कृषकहरुलाई जागरुक गराउनुपर्ने आवश्यकता रहेको छ ।  तर पनि राष्ट्रिय उत्पादनको तुलनामा यस जिल्लामा धान र गहुँको उत्पादन राम्रो छ । समग्रमा यस बर्षको बालीको अवस्था सन्तोषजन नै छ तर जनसंख्या बृद्धि र खेतियोग्य जमिन घट्दैगइरहेको हुनाले उपलब्ध खेतियोग्य जमिनबाट प्रति इकाई उत्पादन बृद्धिका लागी गर्नुपर्ने कामहरु धेरै नै बाँकि छन ।

तपाईँ जिल्लामा आएको कती भयो, केही नयाँ कार्यको थालनी पो गर्नुभएको छ की ? 
–म यही बर्षको कार्तिक देखी यस कार्यालयमा कार्य गरिरहेको छु ।  लगभग ६ महिना हुन लागेछ । यस जिल्लामा हाल प्राथमिकतामा कृषि यान्त्रिकरणलाई दिएको छ । विशेष गरी धानखेतीमा मेसिनरीहरुको प्रयोगलाई प्राथमिकतामा राखिएको छ सोही कार्यहरुको सुरुवात गर्ने तयारीमा रहेको छु । साथै चैते धानको पनि करिब ३० हेक्टर क्षेत्रफलमा रोपाई भईरहेको छ । चैते सिजनमा धान लगाउने कृषकहरुका लागी विशेष प्याकेजमा यस कार्यालयबाट सुविधा प्रदान गरिनेछ । धानखेतिमा भईरहेको परम्परागत तरिकाको खेतिलाई सुधार गरी धान तथा अन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व सुधारका लागी मेरो यस जिल्लाका कृषकरुलाई धान खेतीमा आधुनिकीकरण गर्ने सोच रहेको छ ।
क्षेत्रमा पाउने अनुदानहरु के कस्ता छन् ? 
–बाली विकासका क्षेत्रमा कृषहरुले विशेष गरी बीउ उत्पादक कृषक समुह तथा सहकारीहरुलाई मूल बीउमा अनुदान, कृषकहरुको माटो सुधारको लागि ढैचाको बीउमा अनुदान र अन्य बालीहरुको उन्नत बीउमा अनुदान र कृषि यान्त्रिकीकरणमा अनुदान जस्ता कार्यक्रमहरु यस कार्यालयबाट संचालन छन ।

अनुदानबाट वास्तविक किसानहरु लाभांवित भएका छन् त ?
–हाम्रो लक्ष्य भनेको नै वास्तविक कृषकहरु नै हो । यस कार्यालयबाट संचालन हुने कार्यक्रमबाट लाभांवित हुन र सकेसम्म यस कार्यालयबाट वास्तविक कृषकको पहिचान गरि कार्यक्रमहरु संचालन भईरहेका छन । बर्षाैदेखी खेती गर्दै आईरहेका र व्यवसायिक कृषिको नमुना सोँच सहित सामुहिक वा व्यक्तिगत कृषकहरुलाई पनि प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन भएका छन ।



अनुदानबापत पाएको उपकरण, विउ विजको सदुपयोग वा दुरुपायोग के भएको पाउनुएको छ ?  यदि साच्चै अनुदानको सदुपयोग भएको छ भने उदहारण सहित किसानको विवरण बताईदिनुस न  ?
–अनुदानमा प्रदान गरिएको यन्त्रहरुको सदुपयोग त भएको नै छ तर जति सदुपयोग हुनु पर्ने हो सो नभएको पनि छ । सामुहिक रुपमा प्रदान गरिएका केही कृषि यन्त्रहरुमा नियमित मर्मत संभार नभएर संचालनमा नआउने पनि गरेका छन । तर धेरैमात्रामा सदुपयोग भएको छ । कृषि विकास कार्यालयको सहयोगमा स्थापना भएका अन्नपुर्ण बीउ उत्पादक कृृषि सहकारी संस्था, मानपकडि, राधा कृष्ण बीउ विजन उत्पादक कृषक समूह मानमटेरिया, सिम्रीक कृषि सहकारी संस्था मोतिपुर जस्तै अन्य धेरै समूह तथा सहकारी यस्ता खालका कार्यक्रमबाट व्यवसायिक कृषि तर्फ लागेका उदाहरणहरु छन ।

किसानले सहज रुपमा प्राविधिक सल्लाह सुझाव पाउनको लागि के गर्नुपर्दछ ? 
–कृषकहरुले सहज रुपमा आफुलाई आवश्यक परेको प्राविधिक सल्लाह र सुझाव पाउनका लागी यस कार्यालय अन्तरगर रहेका ४ वटा सेवा केन्द्र र ७ वटा कृषि सेवा सम्पर्क केन्द्रमा खटिनुभएका कृषि प्राविधिकहरुलाई सम्पर्क वा यस कार्यालयको पैसा नलाग्ने टोल फ्री नं १६६००७१५२००० मा पनि कृषकहरुले सम्पर्क गर्न सक्नुहुन्छ
यो मौसम  हावाहुरी चल्ने मौसम पनि हो ? यस बेलामा आफ्नो बाली संरक्षणको लागि किसानले के कस्ता उपायहरु अपनाउन सक्छन् ?
–मानिसले प्रकृतिबाट हुने क्षतिलाई रोक्न त सक्दैन तर कृषकहरुले समयमानै आफ्नो बाली लगाउन लागेको लागत बचाउनका लागी कृषि बीमा गर्न सक्नेछन । नेपाल सरकारले कृषि बीमामा लाग्ने प्रिमियको ७५ प्रतिशत अनुदान पनि दिने गरेको छ । यसबाट प्राकृतिक प्रकोपबाट हुने क्षतिको क्षतिपुर्ति पाउनेछन । कृषि बीमा नै प्राकृतिक प्रकोपबाट हुने क्षतिको भरपाई गर्ने उत्तमा उपाय हो । यसको लागी कृषकहरुले बाली बीमाका लागी जिल्ला कृषि विकास कार्यालय वा नजिकको कृषि सेवा केन्द्र वा सम्पर्क केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ । शत्रुजीवबाट हुने क्षतिको लागी कृषकहरुले क्षति भएको बाली सहित कृषि प्राविधिक  संग राय लिनु भएमा आवश्यक सल्लाह पाउन सक्नुहुनेछ ।
अन्त्यमा,
अनुदानका लागी कृषि कार्यमा हैन कृषि कार्यका लागि अनुदान मागौ । कृषि व्यवसाय संचालनका लागी आवश्यक प्राविधिक सुझावका लागी जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिकहरु संग सम्पर्क गरौ । कृषि कार्यमा व्यवसायिक सोँचका साथ लागौ । युवाहरु विदेशिनु भन्दा स्देशमै आयआर्जन तथा रोजगार बृद्धिका लागी कृषि कार्यमा लागौ र नेपाल लाई एक सबृद्ध देश बनाउ, धन्यावाद । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै