अर्गानिक नगर उन्मुख ‘देवदह’

कृष्ण खनाल
बुटवल, १९  फागुन ।
कृषिमा रुपन्देही विस्तारै आत्मनिर्भर बन्दै गएको छ । खाद्यान्न विउ उत्पादन र माछामा आत्मनिर्भर बनेको रुपन्देही जिल्लो यहाको माग पुरा गरी अन्य जिल्लामा पनि आपुर्ती गर्दै आएको छ । गहुको विउ नेपालमा मात्र नभई भारतमा समेत निर्यात हुदै आएको छ ।  सोही अनुरुप गौतमबुद्धको मावलीको रुपमा पहिचान बनाएको रुपन्देहीको देवदह नगरले पछिल्लो समयमा कृषि क्षेत्रमा पनि छलाङ्ग मार्दै गएको छ । 
केही समय पहिला जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अर्गानिक  गाउँको रुपमा  पकेटक्षेत्र घोषणा गरेको देवदहको सरङ्गवारीबाट सुरु भएको अर्गानिकअभियान अहिले देवदह नगरका विभिन्न स्थानहरुका किसानहरुले सिको गर्दै गएका छन् ।
जिल्लामै नमुना कृषि व्यसायको रुपमा देवदह नगरपालिका–९ सरङ्गवारीमा किसानहरुले अर्गानिक रुपमा तरकारी उत्पादन गर्दै आएका छन् । सोही कुरालाई व्यवसायीक रुपमा  अहिले देवदहनगरका बुद्धनगर, कलुवा, प्रगतिबजार, गुरुङ्गटोलका किसानहरुले समेत व्यवसायीक रुपमा नगदेवालीतर्फ तरकारीखेती खेतीलाई अगाडी बढाएका छन् ।  
देवदहमा कृषिजन्य उत्पादनहरु, पशुपालन र दुग्धजन्य उत्पादनमा जिल्लामा नमुना बन्नेयोजनामा अगाडी बढेको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल बताउँछन् । दुग्ध उत्पादनमा देशकै अग्रणी मानिएको रुपन्देहीको देवदहलाई दुग्ध कोशेली स्टेशनका रुपमा विकास गर्नको लागि देवदह नगरपालिका नै लागेको छ । केही समय पहिला सम्पन्न नगरपरिषद
बाट नै  ‘एक नगर एक उत्पादन’मा  दुग्धलाई छनोट गरी देशमै नमुनाका रुपमा विकास गर्ने निर्णय  गरेको देवदह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे बताउछन् ।
नगरपालिकाले दुग्ध उत्पादनको गुणस्तर र परिमाणको बढोत्तरीस“गै दुग्धजन्य उत्पादनको विविधीकरण गरी देवदहको शित्तलनगरलाई राजमार्ग दुग्ध कोसेली स्टेसनका रुपमा विकास गर्ने लक्ष्य अगाडी सारेको हो । 
देवदहलाई दुग्ध कोसेली स्टेसनका रुपमा विकास गर्न  नगरपालिकाले शित्तलनगरस्थित  राजमार्गमै रहेको वडा कार्यालय परिसरमा  निर्माण गर्न लागेको  सटरहरुमा दुग्ध उपज बिक्री केन्द्र राखी कोशेली घरको रुपमा विकास गर्ने लक्ष्य लिएको नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए । स्टेसनमा दुग्ध कोशेलीका रुपमा दुध, दही, पनिर, खुवा, आइसक्रिम, कुराउनी, घिउ, चिज, मिठाई, छुर्पी, पेडा, केकजस्ता परिकारहरु  राजमार्गमा यात्रा गर्ने देशैभरका यात्रुसमक्ष पु¥याउने नगरपालिकाको लक्ष्य रहेको छ ।  ‘राष्ट्रियस्तरमा देवदहलाई दुग्धजन्य परिकार उत्पादनमा प्रसिद्ध बनाउनका लागि शित्तलनगरलाई राजमार्ग दुग्ध कोसेली स्टेसनका रुपमा विकास गर्न योजनाबद्ध ढंगले काम गरिरहेका छौं’, कार्यकारी प्रमुख घिमिरेले भने, ‘दुग्ध कोशेली घरमा  किसान र व्यवसायीलाई प्रोत्साहन गर्न सटरकबल ३० प्रतिशत छुटमा उपलब्ध गराउनेछौं ।’

नगरपालिकाले  देवदहमा वर्षको एक पटक दुग्ध महोत्सव गर्न, दुग्ध व्यवसायका क्षेत्रहरु लक्षित गरी शित्तलनगरबाट दुग्ध मार्ग रेखांकन गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न,दुध उत्पादनमा महिला, जनजाति, दलित र सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिन दुग्ध उत्पादन शीर्षकमा छुट्टै वजेट विनियोजन गर्ने योजनासमेत बनाएको कार्यकारी अधिकृत घिमिरे बताउ“छन् । 
दुग्ध उत्पादन बढाउन नगरपालिकाले नै पशुपालक कृषकलाई सुलभ ब्याजदरमा कर्जा, उन्नत नश्लका पशु, उन्नत घा“सको बिउ,  दाना, भकारो सुधार तथा गाई गोठ निर्माण, औषधी उपचार, दुधालु पशुपालन तथा दुग्ध भण्डारणलाई व्यवस्थित गर्न निजी र सहकारी क्षेत्रको लगानी आकर्षित गर्न एकीकृत र समन्वयात्मक ढंगले काम गर्ने देवदह नगरले  योजना अगाडी बढाएको छ । 
देवदहमा करिब २५ सय कृषकहरुले १० हजारको संख्यामा गाई भैंसी पालन गरी दैनिक सरदर २५ हजार लिटर दुध उत्पादन गरिरहेका छन् । देवदहमा हाल दुग्ध उत्पादनबाट वार्षिक करिब २० करोड रुपैया“ आम्दानी हुने गरेको तथ्याङ्क छ । देवदहमा उत्पादित दुधमध्ये आधा परिमाण बुटवलसहित बाहिरी जिल्लाहरु चितवन, काठमाडौं, कास्की लगायतका जिल्लाहरुमा बिक्री हुने गरेको छ । 
देवदह नगरमा ठ्याक्कै यति क्षेत्रफलमा कृषि जन्य खेती गरिन्छ भन्ने एकिन तथ्यांक नभएपनि केही उर्जावान युवा किसानहरुले करिव १ विघा देखि ५ विघा क्षेत्रफलमा टमाटर, आलु, लसुन, बन्दा गोबी लगायतका विभिन्न  प्रजातीका तरकारी खेतीगरिरहेका छन् । 
यसरी कृषकहरुले अगाडी बढाएको अर्गानिक नगरको अवधारणामा रुपन्देही कति सफल हुने हो यो विषय बहसको रुपमा अगाडी बढेको छ । गरे के हुन्न भन्ने उखानलाई व्यवहारमा तरितार्थ गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयबाट समेत विउ, मलखादमा अनुदान र आवश्यक प्राविधिक सल्लाह बेला बेलामा पाउने गरेका त्यहाँ किसानहरुले आगामी दिनमा अझ थप प्राविधिक सहयोगको आशा गरेका छन् । 
उनीजस्तै रुपन्देहीको देवदह गाविस –९ का ४४ बर्षिय तुलाराम पाण्डेले एक बर्षमा करिव ३० देखि ४० हजार रुपैया लगानी गरे र करिव २ देखि ढाई लाख रुपैया आम्दानी गर्दछन् । खर्च कटाएर करिव  १ देखि ढेड लाख सम्मको आम्दानी गर्ने गरेको उनले बताए । पाण्डेले भने–‘सधैभरी अर्काको देशमा के गुलाम बन्ने, आफ्नै देशमा केही गरौ भनेर यो खेतीको सुरुवात गरेको हुँ ।’ उनले तरकारीको बजार प्रर्वद्धनको लागि कुनै अभाव नभएको भन्दै भने–‘घरबाट नै व्यवसायीहरुले लैजाने गरेका छन् ।’ सरकारी निकायबाट विउ विजनको लागि अनुदान पाएको उनको भनाई रहेको छ । तरकारीमा रोग किरा लाग्ने गरेको कारण अर्गा्निक विषादीको अभाव भएको कारण अर्गानिक विषादीको अभावको कारण तरकारीको उत्पादानको लागि कायौ पटक मिहिनेत खेरा गएको उनको दुखेसो छ । 
उता, रुपन्देहीको अर्गानिक तरकारी खेतीको लागि ‘पकेट क्षेत्र’ रुपमा रहेको देवदह गाविस ९ को सरङ्गटारीका  किसानले ४० हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । बर्सातको क्षेत्रमा धान खेती गने किसानहरुले हिउँदको समयमा सबैले तरकारी खेती गर्दैै आएका छन् । सरङ्गकाली कृर्षि सहकारी संस्था समेत गठन गरि त्यहाका कृषकहरुले रुपन्देहीमै नमुना अर्गा्निक खेती गरिरहेका छन् । 
संस्थाका अध्यक्ष मान बहादुर गाहाले ८४ घर सहकारीमा आवद्ध भएको जानकारी दिए ।  उनले पकेट एरियामा ५० घरधुरी रहेको र सबै किसानहरुले अर्गा्निक खेती गरेको  जानकारी दिए । ५८ जना कृषकहरु सहकारीमा आवद्व भएको जानकारी दिदै अध्यक्ष मान बहादुर गाहाले भने–‘हामीले तरकारी बेच्नको लागि बजार नै जानुपर्दैन, यहिबाट नै किसानहरुले लैजाने गर्दछन् ।’
उक्त स्थानमा  बुटवलबाट व्यवसायीहरु गएर किसानको घरघरबाट नै तरकारी उठाउने गरेको छन् । किसानको दैलो दैलोबाट नै तरकारी उठाउने गरेको उनको भनाई रहेको छ । पानीको सुविधा भएकोले कारण त्यहाका किसानहरुले ६४ सालमा कृषी समुह स्थाना गरि ०६५ सालमा  दर्ताभएको हो । वि.स.२०६५ सालबाट पूर्ण रुपमा अर्गाानिक खेती सुरु गरिएको  किसानहरु बताउछन् । हिउदको समयमा पानीको मात्रा कमी हुने गरेको कारणले केही समस्या  हुने गरेको किसानको  गुनासो रहेको छ । 
यसको साथै अर्गा्निक विषादीको पनि अभाव रहेको बताए । असुरो, निम, बकाईनो जस्ता अर्गानिक विसादी प्रयोग गर्नको लागि प्रयोग हुने कच्चा पर्दाथको अभाव भएको उनको भनाई रहेको छ ।  किसानहरुले आफ्नो आफ्नो जग्गाको स्थानमा करिव १० हजार देखि ४० हजार रुपैया सम्म खर्च गरी सिंचाहीको लागि कुलो समेत निर्माण गरेका छन् ।  बार्षिक रुपमा किसानहरुले करिव  १ करोड १६ लाख रुपैया जतीको तरकारी विक्री गर्ने गरेका छन् । यो ६ महिनाको अवधिमा मात्र हो । किसानहरुले सिमी, तरुल, विडालु, गोभि, लसुन, प्याज, साग लगायतका सम्पूर्ण तरकारी को खेती गर्ने गरेका छन् । किसानहरुले यसको लागि आफ्नो क्षेत्रफल अनुसारको लगानी गर्ने गरेका छन् । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले सरङ्गटारी मा ५० हेक्टर करिव ७५ विगाहा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गरिएको जानकारी दिदै यस स्थानले पहिचान समेत दिएको जानकारी  दिए । स्वथकर, पुर्ण रुपमा अर्गा्निक खेती गरिएको कारण जिल्ला कृर्षी विकास कार्यालले साना सिंचाईंको कार्यक्रम, विउमा अनुदान, अर्गा्निक मल, जैविक विसादीमा अनुदान दिएको जानकारी दिए । बरिष्ठ कृर्षी विकास अधिकृत सापकोटाले भने–‘जिल्ला कृषी विकास कार्यालयले विशेष क्षेत्रको रुपमा सहयोग  गरेको जानकारी दिए । ’
 देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालले देवदह  कृषि र पशुपालनमा विस्तारै अगाडी बढेको भन्दै जिल्लामा अर्गानिक नगर , कृषि र पशुपालनमा जिल्लामा  नमुना बनाउनको लागि उद्योग बाणिज्य संघको पहल जारी रहेको बताएका छन् । उनले भने–‘जिल्लामा नमुना नगरको रुपमा बनाउने हाम्रो अभियान जारी छ, यसमा सबैको  सहयोग र सहकार्य  जरुरी रहेको छ ।’
यस्तै देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्गले सबैको सहकार्यमा देवदह नगरले फरक पहिचान पाउने भन्दै यसको लागि व्यवसायीक व्याक्तित्वहरुको विचमा एकता जारी रहेको र  सहयोग र सद्भाव जारी रहने बताउछन् । उनी भन्छन्–‘देवदह दुग्धजन्य परिकार उत्पादनमा नमुना नगरको रुपमा विकास हुदै गएको छ, यसको पहिचान कायम राख्नको लागि सबै व्यवसायीहरुको विचमा एकता अवश्यक रहेको छ ।’
देवदह क्षेत्रको कृषिका जानकार त्रिलोचन दाहालले अहिले नै सिङ्गो देवदह नगरलाई अर्गानिक नगरको रुपमा विकास गर्न केही कठिनाई रहेको बताउछन् । अंभव भन्ने कुरा केही नभएको भन्दै विस्तारै सबै क्षेत्रका किसानहरु लाग्ने हो भने केही बर्षमा तरकारीमा अर्गानिक तरकारी उत्पादन गर्न सकिने उनको धारणा  छ । उनी भन्छन्–‘सरङ्गटारी अर्गानिक गाउ नै हो, त्यसको प्रमाणीकरण हुन मात्र बाँकीछ, देवदह नगरका अन्य स्थानहरु केउली, मुडाबास, सटकखोला लगायतका स्थानहरुलाई अर्गानिक गाउ बनाउन सकिन्छ ।’ उनले विस्तारै क्रमिकरुपमा सबै किसानहरु लागेर काम गर्ने हो भने अर्गानिक नगरको रुपमा विकास गर्न संभव भएको उनको तर्क छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले देवदह, पर्रोहा, सालझण्डी, सैनामैनालाई च्याउ र मौरीपालनको पकेट क्षेत्रमा घोषणा गरेको छ भने धान, गहुँका लागि धकधई, गंगोलियालाई छानेको छ ।  कार्यालयले जैविक तरकारी खेतीको निम्ति धमौली, सिक्टन र देवदहलाई पकेट क्षेत्र ठानेको छ । माछापालन पकेट क्षेत्रको रुपमा गंगोलिया, पर्रोहा, दयानगर, मानमटेरिया, पश्चिम अमुवा र पड्सरी छानिएका छन् । मणिग्राम, मक्रहर, करहिया, भगवानपुर, केरवानी, हाटीबनगाइँ तेलहन र दलहनका लागि नाम कमाएका क्षेत्र हुन् । 


त्रिलोचन दाहाल
कृषिका जानकार
अहिले सिङ्गो देवदह नगरलाई अर्गानिक नगरको रुपमा विकास गर्न केही कठिनाई त छ तर अंसम्भव भने छैन । विस्तारै सबै क्षेत्रका किसानहरु लाग्ने हो भने केही बर्षमा तरकारीमा देवदहलाई अर्गानिक तरकारी उत्पादन क्षेत्र बनाउन सकिन्छ । सरङ्गटारी अर्गानिक गाउ नै हो, त्यसको प्रमाणीकरण हुन मात्र बाँकी छ । देवदह नगरका अन्य स्थानहरु केउली, मुडाबास, सटकखोला लगायतका स्थानहरुलाई अर्गानिक गाउ बनाउन सकिन्छ ।’ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै