सन्र्दभः विश्व क्यान्सर दिवस विरामी छनः अस्पताल छैन

कृष्ण खनाल
बुटवल,  २० माघ । 
आज विश्व क्यान्सर दिवस, विश्वभरमा झैं नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमगरी मनाईदै छ । प्रत्येक बर्ष कुनै न कुनै संस्थाले चेतनामुलक कार्यक्रम आयोजना गरीकार्यक्रम मनाउछन् तर पनि क्यान्सरोग लाग्ने व्याक्तिहरुको संख्या कमी छैन । न
सर्ने रोगको रुपमा रहेको क्यान्स रोग लागेपछि अधिकांस मानिसहरुको मृत्यु हुन्छ तर समयमा नै सजकता अपनाएमा यो  रोग बाट बच्न सकिन्छ । लुम्बिनी अञ्चलकै सबैभन्दा ठुलो सरकारी अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा विभिन्न प्रकृतीका क्यान्सर रोग लागेका व्याक्तिहरु बेला बेलामा आउने गरेका छन् । तर अस्पताले आफुसंग क्याक्सर रोग उपचारको लागि कुनै पनि उपकरण वा प्रविधी नभएको कारण प्रारम्भिक परिक्षण गरेर प्रमाणित हुन साथ तुरुन्तै ‘भरतपुर क्यान्सर हस्पितल चितवन’ पठाउने गरेको छ । 
लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले अस्पतालमा बेला बेलामा क्यान्स रोग लागेका व्याक्तिहरु आउने गरेको तर यहा उपचार संभव नभएको कारण रिफरगर्नु बाहेकको विकल्प नभएको बताउछन् । उनी भन्छन्–‘हामीसंग उपकार र प्रविधि नै छैन,विशेषज्ञ डाक्टरको पनि अभाव छ, हामी प्रमाणित हुनसाथ चितवन पठाउने गरेका छौ ।’ 
लुम्बिनी अञ्चल र यस क्षेत्रमा क्यान्सर उपचारको लागि अस्पताल आवश्यक रहेको सरोकारवालाहरु बताउछन् । कतीपय लायन्स, लियो तथा रोटरी, परिवार नियोजन संघ लगायतका संघ संस्थाहरुले बेला बेलामा सचेतानमुलक कार्यक्रम गर्ने गरेको भएपनि रोग लाग्ने दरमा कमी आएको छ । यस क्षेत्रमा सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापना गर्न सकेमा खासगरी लुम्बिनी, राप्ती अञ्चलका बासिन्दाहरु लाभांवित हुने बुटवल उद्योग बाणिज्य संघका महासचिव हरि अर्यालको भनाई रहेको छ । 
लुम्बिनी अञ्चल अस्पताल विकास समितिले यस विषयमा पहल गरे नगरेको विषयमा मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले अनविज्ञता जनाए । उनले भने–‘खै विकास समितिले के गरेको छ, मलाई जानकारी भएन ।’ 

 क्यान्सरलाई नेपालीमा अर्वुद रोगका नामले पनि बुझिन्छ । यो रोग लागेका अधिकांश मानिस मृत्युको सिकार भएका कारण यसलाई भयानक रोगका रुपमा लिने गरिएको छ । तर यो रोग लागेको शुरुवातमै पहिचान हुनसके पछिल्ला दिनमा उपचार पनि सम्भव बन्दै गएको छ । क्यान्सरको संक्रमण हुने बितिकै उपचार गरेको खण्डमा निको भएका प्रसस्तै उदाहरणहरु भेटिन्छन् । हरेक बर्ष विश्वभरी फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । अव्यवस्थित जीवनशैली, चर्को प्रदुषण र विभिन्न खालका तनावका कारण क्यान्सर लाग्ने गर्दछ । त्यहि भएर विश्व स्वास्थ्य संगठनले पनि खानपानको व्यवस्थापन, प्रभावितहरुमा उपचारको पहुँच र क्यान्सर विरुद्ध आक्रमक अभियानहरुलाई जोड दिएको छ । नेपालमा क्यान्सर प्रभावितहरु मध्ये करीव ४० प्रतिशत मानिस निको नहुने गरी ग्रसित छन् । त्यसको मुख्य कारण यो संख्याको क्यान्सर अन्तिम चरण अर्थात अवस्थाको हो । अहिलेसम्मको उपचार पद्दतिको कार्यन्वयन भएको अवस्थामा पनि ६० प्रतिशत क्यान्सरका बिरामी निको नहुने गरी प्रभावित भएका एक तथ्यांकमा पाईन्छ । 
लुम्बिनी अञ्चल अस्पताल बुटवलका बरिष्ठ डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीले क्यान्सरको मुख्य कारणका रुपमा धुमपान र मध्यपानलाई मानिने बताउछन् । उनले त्यसका अलवा खानपानको अव्यवस्था लगायतका अन्य कारणहरु पनि रहेको र  नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण क्यान्सरका बिरामीहरु बढ्ने गरेको  बताए ।   यसबाट समग्र क्यान्सरको जोखिम नै बढ्दै गएको मान्न सकिन्छ । खानपानको अव्यवस्थाले क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले बृद्धि हुने विश्व स्वास्थ्य संगठनले बताएको छ । विकसित भन्दा विकासोन्मुख राष्ट्रहरुमा क्यान्सरका नयाँ विरामी थपिंदै गएकाछन् । विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरबाट सन् २०३० सम्ममा दुई करोड ६० लाख मानिस प्रभावित हुने अनुमान रहेको छ । अहिले नेपालमा बर्षेनी ५ हजार क्यान्सर नयाँ रोगी थपिने गरेको र हाल ६० हजार मानिस प्रभावित भएको संलग्न चिकित्सकहरु बताउँछन् । 
क्यान्सर शरिरका बिभिन्न अंगमा लाग्दछ । नेपालमा मुख्यगरी धुमपानका कारण फोक्सोको क्यान्सर लागेका व्यक्तिको संख्या धेरै छ । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित महिलाहरुको संख्या रहेको छ । पछिल्ला दिनमा युवति तथा किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या देखिएको विशेषज्ञ डाक्टरको भनाई रहेको छ ।   खासगरी स्तनको संरक्षणका लागि लगाईने ब्राको अनुपयुक्त, अनुचित र अव्यवस्थित प्रयोगबाट यस्तो समस्या बढेको नयाँ अध्ययनहरुले देखाएकाछन् । त्यसका अलवा भुटेको, तारेको र चिल्लो खानेकुराको अत्याधिक सेवन पनि क्यान्सरको कारण बनेको पाइन्छ ।क्यान्सर रोग लागेका मानिसहरुमा एक्कासी तौल घट्ने, खानामा अरुचि बढ्ने, टाउको दुख्ने, वान्ता भईरहने, महिलाहरुमा महिनावारी रोकिएपछि पनि लगातार रगत देखिने र स्तनको वरिपरी डल्लो र गिर्खा देखिने गर्दछ । नेपालमा क्यान्सर रोगको उपचारमा केहि सहजकता भए पनि प्रविधिको पहुँच नहुँदा अत्यन्तै खर्चिलो उपचार मानिएको छ ।
डरलाग्दो हुन्छ मुखको क्याँसर 
लुम्बिनी अञ्चल अस्पतालका बरिष्ठ डेन्टल सर्जन डा. प्रकाश बुढाथोकीका अनुसार मुखको अर्बुद रोग भनेको मुखका अंग, तन्तुको कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हो । हटाउँदा पनि कुनै कोषको आकारप्रकारमा वृद्धि भइरह्यो र घाउ खटिरा २÷३ हप्तासम्म पनि निको भएन भने मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्ने उनको सुझाव रहेको छ । 
क्यान्सर एउटा रोगमात्र नभई, रोगहरुको समूह भएको उनको तर्क रहेको छ । उनी भन्छन्–‘ यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन तर एउटै व्यक्तिमा एक ठाउँबाट अर्को ठाउँमा, एक अंगबाट अर्को अंगमा भने सर्न सक्छ ।’
मुखको क्यान्सर भएका नब्बे प्रतिशतभन्दा बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको पाइने उनको भनाई रहेको छ ।  मद्यपान र धुम्रपान जस्ता  वस्तुको सेवन बन्द गर्नाले मुख क्यान्सर हुने सम्भावना घट्छ । मुखको स्वास्थ्य र क्यान्सरका लागि जुनसुकै प्रकार र रूपको धुमपानको प्रयोग पनि हानिकारक हुन्छ । तर तुलनात्मक रूपमा धु“वाको रूपमा प्रयोग गरिने सुर्तीभन्दा धुवा“रहित रूपको सुर्ती चाहे त्यो चपाएर खाने सुर्ती होस् वा मुखमा राखी रस लिने वा मञ्जनको रूपमा प्रयोग गरिने सुर्ती, बढी हानीकारक देखिन्छ । शहर बजारका महिलाले धुवारहित सुर्तिको सेवन गरेको अस्पताल, चिकित्सालय र विभिन्न स्वास्थ्य शिविरमा दाँत एवं मुखको परीक्षण गर्दा फेला परेको छ । 
त्यसैले विश्वमै सर्वा्धिक धुम्रपान गर्ने महिला नेपालका रहेको तथ्यांक सार्वजनिक भएको छ ।  सुर्ति र पान दुबै खानेमा मुखको क्यान्सर २० देखि ३० गुना बढी देखिन्छ ।  इप्सटन वार, साइटोमेगालो इन्क्लुजन, हप्स सिम्प्लेक्स, एचआइभी, भेरीसेलाजुस्टर भाइरस, ह्युमन प्यापीलोमा र क्यान्डीडाको संक्रमणले पनि मुखको क्यान्सर निम्त्याउ“छ ।  हाल बढ्दो म¬खमैथ¬नले गर्दा य¬वामा म¬खको क्यान्सर बढी रहेको छ । ओरल सेक्स गर्दा म¬खमा क्यान्सर बनाउन सक्ने प्यापीलोमा भाईरस तीब्र गतिले सर्ने र बढ्ने द¬वै ह¬न्छ । मुखको क्यान्सर पोषणको कमी, सुपारी सेवन, चोटपटक, दीर्घकालीन घर्षण,  सूर्यको प्रकाश र एक्स–रेको कारणले पनि मुखको क्यान्सर लाग्ने उनको भनाई रहेको छ ।
पाठेघरको क्यान्सरमा अझ बढि जोखिम
बरिष्ठ महिला वालवालिका तथा प्रसुतीरोग डा. सुमनराज ताम्राकारका अनुसार  महिलाहरूमा सबभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुन्छ ।  उनका अनुसार नेपालमा बर्षेनी कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन ।  एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । तीमध्ये दुई लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ । साधारणतया यो रोग ४० वर्षपछि देखापर्ने भए पनि नेपाल लगायतका अविकसित देशहरूमा ३० वर्षभन्दा कम उमेरका महिलाहरूमा समेत यो रोग पाइने गरेको छ ।
 विशेषज्ञ डाक्टर ताम्रकार भन्छन्–‘हयुमेन पापिलोमा भाइरस (एचपीभी) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो। साधारण किसिमको मानिने यो भाइरस यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक संक्रमित हुने मानिन्छ ।’ उनका अनुसार  पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एक भन्दा बढीसँग यौनसम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्ग सम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने जोखिम बढी हुन्छ ।  
महीनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीस्राव देखिनु, यौनसम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने स्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिने उनको भनाई र रहेको छ । 
पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिने डा ताम्रकारको भनाई रहेको छ । जाँच प्याप स्मियर, एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट जाँच गरिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ÷ छैन थाहा पाउन अल्ट्रासाउण्ड, सीटी स्क्यान, आईभीयू वा एक्सरे गराउनु पर्ने उनको भनाई रहेको छ ।  पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने डा. ताम्रकारको भनाई रहेको छ । 
जिल्ला जनस्वाथ्य नै अनविज्ञ
आज विश्वभर क्यान्सर सचेतना दिवस मनाउने विषयमा बुधवार दिउसो सम्म जिल्ला जनस्वाथय कार्यालय अनविज्ञ रहेको थियो । संवादाताले  रुपन्देही जिल्लाको जिल्ला जनस्वाथ्य कार्यालय भैरहवमा सम्पर्क गर्दा कार्यालय प्रमुख बरिष्ठ जनस्वाथ्य अधिकृत टंक प्रसाद चापागाईले जिल्ला जनस्वाथ्य कार्यालयबाट कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको विषयमा जानकारी नभएको बताए ।उनले आफु केही दिन पहिला मात्र जिल्लामा आएकाले यस क्षेत्रको अवस्थाको बारेमा जानाकारी नै नभएको प्रतिक्रिया दिए  । 
उनले नेपाल सरकारले केही समय पहिला चितवन र कास्की जिल्लाका कक्षा ६ मा अध्यायनरत छात्राहरुलाई क्यान्सर विरुद्वको खोप लगाउने योजना ल्याएको तर त्यो अहिले सञ्चालनमा आउन नसकेको जानकारी दिए ।यस्तो प्रकृतीको कार्यक्रम रुपन्देहीमा सञ्चालन गर्न सकिदैन? भन्ने संवाददाताको  जिज्ञासमा उनले भने–‘यो केन्द्रिय मन्त्रालयको कार्यक्रम हो, ति जिल्लामा सफल भएपछि अन्य जिल्लामा पनि विस्तार होला नी, तत्काल केही संभावना छैन ।’  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले विभिन्न समयमा क्यान्सर रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोनना गर्ने र यसको लागि निश्चित बजेट विनियोजन भएको भएपनि दिवसको अवसरमा कुनै कार्यक्रम तय नगरिएको उनको भनाई रहेको थियो । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती