मेलाको कारोबाले हौसला थपेको छ

बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको कृषि उद्यम केन्द्रको आयोजनामा अहिले कृषि मेला–२०७२ बुटवलमा जारी छ । मेलाको चौथो दिन बुटवलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । दर्शकको बाक्लो उपस्थिीति सँगै मेला आयोजक र स्टल सहभागीहरू समेत हौसिएका छन् । यसै विषयमा मेलाका स्टल सहभागीहरूलाई बुटवल टुडेकर्मी कृष्ण खनालले मेलाका विविध विषयमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश 

दैनिक १० हजारको कारोबार
रविन्द्र अग्रहरी
प्रमुख, अग्रहरी च्याउ फर्म, पश्चिम अमुवा । 
मैले दुई बर्षदेखि च्याउ उत्पादन गरी बिक्री गर्दै आएको छु । म च्याउ उत्पादनसँगै स्वयंसेवीरूपमा अपाङ्ग पुनःस्थापना केन्द्रमा काम गर्दै आएको छु । मेलामा अहिले कारोवार राम्रो छ । दैनिक करिब १० हजारजतिको कारोवार हुने गरेको छ । दुई वटा कोठामा ४ सय वटा डल्ला च्याउ मैले राखेको छु । मेरो आम्दानीको स्रोत पनि यहि हो । परिवारका अन्य सदस्यहरूलाई च्याउ खेतीबाट नै पाल्ने गरेको छु । आगामी दिनमा अझ व्यवस्थित रूपमा च्याउ फर्म स्थापना गरी विक्री वितरण गर्ने योजना बनाएको छु । 


व्यापार राम्रो छ 
मधु गलामी
सदस्य, भार्सेली कृषक समुह भार्से–५ गुल्मी 
हामीहरू कृषकहरू मिलेर आजभन्दा करिब १ बर्ष पहिला समूहमा आवद्व भएर कृषि सम्बन्धी काम गर्दै आएका छौं । अहिले हाम्रो समूहमा २० जना कृषक आवद्व रहेका छन् । अहिले मेलामा सिलाम, सिन्की, आटो, पिठो, भुईस्याउ, लगायतका विभिन्न खाद्यान्नहरू बिक्री गर्दै आएका छौं । अघिल्लो मेलामा हाम्रो समूहले किवि फल ल्याएर बिक्री वितरण गरेका थियौ । यस पटकको कृषि मेलामा व्यापार राम्रो छ । अहिले भुइँस्याउ हामीले विक्रिका लागि ल्याएका छौ । यो पुर्णरूपमा गाउँको उत्पादन हो । पहिलो पटक हामीले भुईस्याउको उत्पादन सुरु गरेका हौं । पहिलो पटक मेलामा विक्रीका लागि ल्याएका छौं । अहिले करिव १२ क्विन्टल हामीले बिक्री गर्ने लक्ष्य लिएका छौ । हामी समुहमा आवद्व भएका किसानहरूले घर–घरमा उत्पादन गरेको खाद्यान्न, विउ तथा तरकारी समुहमा आवद्व भएर वजारीकरण गर्दै आएका छौं । 

हस्तकलाको व्यापार राम्रो
केयरसिंह सिंजाली
प्रमुख, मिलन हेन्डीक्राप्ट तिलोत्तमा–२१
आजभन्दा करिब ३ बर्ष पहिला मैले हस्तकलाका विभिन्न सामानहरू उत्पादन गरि बिक्री गर्दै आएको छु । अहिले मैले हस्तकलाका विभिन्न बस्तुहरू, चाक्ला, बेलना, काठका कप, नेपाली करुवा, खुर्पेटो, हँसिया, नेपालको झण्डा लगायतका सामग्रीहरू विक्रि वितरण गर्दै आएको छु । 
यो कृषि मेलामा पहिलो पटक ल्याएको हो । अहिले प्रचार प्रसारको काम मात्र गरेको छु । अवको आगामी योजना मेरो बढि मात्रामा हस्तकलाका सामानहरू निर्माण गरी विदेश निर्यात गर्ने योजना रहेको छ । अहिले मेरो उद्योगमा ११ जनाले रोजगारी पाएका छन् । हामी परिवारका सबै सदस्यहरू र केही बाहिरका व्यक्तिहरूलाई समेत रोजगार दिएका छौं । 

आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो छ 
कृष्ण अर्याल
प्रमुख,अनमोल ट्रेड कन्र्सन बुटवल–११ तिनकुने
हामीहरूको दम, ग्याष्ट्रिक, बाथ, सुगर, खोकी लगायतका आयुर्वेदिक बस्तु बिक्री गरेका छौं । मेलामा व्यापार उत्साहजनक भन्दा पनि सन्तोषजनक छ । कृषि मेलामा म तेस्रो पटक सहभागी भएको छु । अन्य मेला भन्दा यो मेला विशिष्टिकृत मेला भएको कारण फाईदाजनक रहेको छ । दैनिक करिव ४ हजार बराबरको कारोबार गरेका छौं । हामी पूर्णरूपमा आयुर्वेदिक औषधीको बिक्री वितरण गर्दैै आएका छौं । पछिल्लो समयमा अन्य औषधी भन्दा पनि आयर्वेदिक औषधिको माग बढ्दो छ । 

बीउविजनको सहयोगले फाइदा 
गंगाराम खत्री
जिल्ला शाखा अध्यक्ष, सहकारी ÷सुनगाभा कृषक समूह रोल्पा
एउटा समूहमा हामी २५ जना छौं । रोल्पा जिनावाङ्गमा रहेका छौं । सहकारीमा १ सय ७२ जना रहेका छौं । हामीले २०५० साल देखि सुरु गरेका हौं । हामी कृषकले गरेको फर्महरूलाई ठेक्कामा लिएर काम गरेका छौं । बार्षिकरुपमा हामीले १ करोड बराबरको विउ उत्पादन गरेका छौ । हामीले विभिन्न सिड कम्पनीहरूलाई विउ विक्रि गरेका छौं । हामीलाई किसानको लागि उन्नत विउ विजन कार्यालयले सहयोग गरेको छ । विउ उत्पादनको लागि विभिन्न सामग्रीहरू सहयोग गरेको छ । समुह र सहकारी मार्फत आर्थिक रूपमा जिल्लालाई आत्मनिर्भर बनाउने तयारीमा छौं । गत बर्ष पनि हामी आएका थियौं । कारोवार सन्तोषजनक रहेको छ । विउ विजन सबै, आलु पनि विक्रि गरेका छौं । दैनिक पहिलो दिनमा ८ हजार र अहिले १५ देखि २० हजार रूपैयाँ दैनिक करोवार हुने गरेको छ । 

अर्गानिक बस्तुको माग छ 
भिम बहादुर जिसामगर
प्रमुख, जैविक नर्सरी, देवचुली नपा–५ नवलपरासी
ग्याष्ट्रिक, गानोगोला, ढाड, कम्मर दुख्ने, पेट दुख्ने, जोर्नि लगायतका आयुर्वेदिक औषधि बिक्री गरेको छु । करिब १ हेक्टर क्षेत्रफलमा आफ्नै बगैंचा भित्र हामीले उत्पादन गरेका छौं । आज भन्दा करिब १० बर्ष अगाडि मैले सुरु गरेको हो ।  मैले गाउँमा कसैलाई चाहिएमा आफै मिलाएर औषधिको रूपमा बिक्री वितरण गरेको छु । दिनमा करिब २५ सय बराबरको बिक्री हुने गरेको छ । मेलामा तेस्रो पटक सहभागी भएको छु । मैले कृषि मेला आयोजना भएको बेलामा बनाएर बिक्री गरेको छु । मैले उत्पादन गरेका वस्तु पूर्णरूपमा आयुर्वेदिक र अर्गानिक हुन्छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती