बुटवल टुडेको दोस्रो बार्षिकोत्सव, ‘प्रोत्साहनले खोज पत्रकारिता’

कृष्ण खनाल 
बुटवल, १९ मंसिर । 
बुटवल पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित ‘बुटवल टुडे दैनिक’ ले आफ्नो दोस्रो बार्षिकोत्सव  मनाएको छ । एक महिनासम्म विभिन्न कार्यक्रम गरी मनाइएको बार्षिकोत्सवको बिहीवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । ‘रुपन्देहीको पत्रकारिता हिजो र आज’ विषयक राउण्ड टेबल कार्यक्रम आयोजना गरि बार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु समापन गरिएको हो । बुटवल पब्लिेशन प्रा.लि.का अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
नेपाल सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पत्रकार दिपक ज्ञवालीले छलफल पत्र  प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको छलफल पत्रमा विगतमा रुपन्देहीको पत्रकारिताको लुकेको पक्षलाई उजागर गरेका थिए । कार्यक्रममा  पूर्व सभासद् नेत्र पन्थीले नेपालको  पत्रकारिताको समस्या एक्लैको नभई साझा समस्या रहेको बताए ।  उनले अबको पत्रकारितामा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तिबाट  टाढा रहनु पर्ने बताए । उनले सञ्चारमैत्री पत्रकारिताको विकास गर्दै युवा जनशक्तिलाई नेपालमा नै प्रयोग गरी श्रमशील जनशक्ति तयार गर्ने क्षेत्रमा मिडियाको भूमिका  हुुनुपर्ने बताए । 
कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रीय अध्यक्ष मोहन चापागाईले पत्रकारिता विगतमा संक्रमणबाट गुज्रीएको भन्दै अबको पत्रकारिता मिसन पत्रकरिताको रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले आगामी दिनमा व्यवसायिक पत्रकारिताको विकाश हुनु पर्ने र  जिम्मेबार पत्रकारिता अबको पत्रकारिता हुनुपर्ने बताए । उनले मिडियालाई दोषमात्र नदिई मिडियाकै लागि सरकारी क्षेत्रबाट कति प्रतिशत बजेट छुट्टाइएको छ त्यसको लेखाजोखा हुन आवश्यक रहेको बताए । उनले सरकारी र गैरसरकारी क्षेत्रले पत्रकारिता विकासका लागि बजेटको व्यवस्थापन गरी मोटिभेसन गर्न नसकेको बताए । 
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले मिडियाका समाचार कक्ष व्यवस्थित हुन नसकेको भन्दै त्यसतर्फ ध्यान जान जरुरी रहेको बताए । उनले लगानी कर्ताहरुले लागानी गरेपछि सबै हुन्छ भन्ने भ्रममा मात्र  नपरी समाचार कक्ष व्यवस्थित गर्दै  पत्रकारहरुको सुरक्षामा समेत ध्यान जानुपर्ने बताए । उनले रिपोटरलाई पोटर नबनाउन समेत आग्रह गरे । खोजी पत्रकारिताको लागि पत्रकारलाई प्रोत्साहनको खाँचो रहेको उल्लेख गर्दै उनले प्रोत्साहनले खोज पत्रकारितालाई टेवा मिल्ने बताए । 
 प्रकाशन समाज रुपन्देहीका अध्यक्ष बालकृष्ण चापागाईले अभावबाट पत्रकारिता गर्नुपर्ने अवस्था आएको भन्दै यसको लागि मिडियामा लगानी गरेर मात्र नभई पत्रकारिताको संस्थागत विकासको लागि समेत जोड दिनुपर्ने बताएका थिए । सम्पादक समाजका अध्यक्ष डिआर घिमिरेले अबको सञ्चार संस्था परिवर्तनकारी हुनु पर्ने बताएका थिए । उनले परिवर्तनको लागि मिडियाले लामो समय देखि काम गरेको भन्दै यसको जस मिडियाले पाउनुपर्नेमा जोड दिए ।  अबको मिडिया पनि परिर्वतनकारी हुनुपर्ने उनको भनाइ थियो । 
कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले शिक्षाको कुराहरुलाई अगाडी  बढाउनको लागि आग्रह गरे । उनले  सञ्चार र शिक्षाको सम्बन्ध अन्योन्याश्रित रहेको भन्दै निरक्षरलाई  अक्षर चिनाउनको लागि र सिकाई उपलब्धिलाई सुधार गर्नको पत्रकारिताको खाँचो रहेको औंल्याए । प्रेरणामूलक र खोजमूलक शैक्षिक समाचारहरु आवश्यक रहेको बताउँदै उनले सञ्चारलाई नागरिक मैत्री, समाज मैत्री र शिक्षामैत्री बनाउनु पर्ने बताए । 
उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य  घनश्याम पाठकले विषेश गरेर अनुसन्धानमूलक समाचारमा मिडियाको ध्यान जानुपर्ने बताए । उनले प्राकृतिक विज्ञान  र समाज विज्ञानको बीचमा अन्तरविरोध रहेको बताए । उनले निःशुल्क शिक्षाको नाममा विद्यालयमा शुल्क तिर्नुपर्ने अवस्था आएको भन्दै सरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा हुने लगानी किन कम भएको छ भन्ने विषयलाई गम्भिरताको साथ पत्रिकाले उठाउन आवश्यक रहेको बताए ।  उच्च माध्यमिक शिक्षा परिषद्, बुटवलका प्रमुख सुवास पन्तले सुरुका दिनहरुमा भन्दा अहिले  पत्रकारिताको विकास भएपनि मिसन पत्रकारिता र खोजमुलक पत्रकारिता हुन नसकेको बताए । । एउटा पत्रिकामा गल्ती भयो भने अर्को पत्रिकामा पनि त्यस्तैखालको समाचार र गल्ती आउने गरेको बताए । उनले पत्रकारितामा कपि पेस्ट बन्द गर्दै   शुद्धतालाई ख्याल गर्न सुझाव दिए ।  
कार्यक्रममा डेभलपमेन्ट बंैकर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष  प्रकाश पौडेलले  परिवर्तन भन्ने कुरा शब्दमा होईन, व्यवहारमा पनि आउनुपर्ने बताएका थिए । उनले बुटवलको  पत्रकारितामा धेरै परिवर्तन आएको भन्दै  बुटवल टुडेले परिवर्तनलाई आमत्साथ गरेर अगाडी बढेको बताएका थिए । उनले पत्रिकाले बैंकिड्ड क्षेत्रका समाचारलाई विशेष स्थान दिँदै खोजमूलक समाचार आउन सके पत्रिकाको आर्थिक पक्ष पनि दरिलो हुने बताए । 

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष रामचन्द्र आचार्यले  घटनामुलक समाचार भन्दा पनि  समय सान्र्दभिक र समालोचनात्मक समाचार आउनुपर्ने बताए । उनले देशमा राजनीतिक स्थिरता र भष्ट्राचार मुक्त राष्ट्र कसरी बनाउन सकिन्छ भन्ने कुरालाई पत्रिकाले स्थान दिनुपर्ने बताए । शिक्षा, स्वास्थ्य सञ्चारलाई कसरी व्यवस्थित गराउने भन्ने विषयमा  भोलीको पत्रकारिता केन्द्रीत हुनुपर्ने बताउँदै उनले महङ्गी नियन्त्रणको लागि पत्रिकाको विशेष ध्यान जानुपर्ने बताए । 
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरीले खोजमुलक पत्रकारीता हुन सकेका नसकेको भन्दै पत्रकारिताले मर्यादापालनालाई ध्यान दिनुपर्ने बताए । उनले पत्रकारिताको दृष्टिकोणमा परिवर्तन जरुरी रहेको उल्लेख गरे । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले  बुटवल टुडेको आफ्नो ईतिहास रहेको भन्दै  यसले आर्थिक, राजनीतिक, सामाजिक मुद्दा उठाएको बताएका थिए ।  बुटवल टुडेले एउटा चटनीको रुपमा काम गरेको भन्दै उनले सम्बन्धीत व्यक्तिसँग प्रतिक्रिया लिएर मात्र समाचार बनाउनको लागि आग्रह गरे । उनले अवको पत्रकारिता  दबाब र जागरणको पत्रकारिता हुनुपर्ने बताए । एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य यज्ञ पोखरेलले रुपन्देहीको पत्रकारितामा धेरै विकास भएको बताउँदै पत्रकारिता घटनाप्रदान र सुचना प्रदानबाट खबरदारी पत्रकारिता र  निर्माण मुखी पत्रकारिता तर्फ केन्द्रित हुन सुझाव दिए ।  उनले राजनीतिक भन्दा पनि  आर्थिक मुद्दामा पत्रिका केन्द्रित हुनुपर्ने बताए ।  
कार्यक्रममा रुपन्देहीका जिल्ला वन अधिकृत ईन्द्र पछाईले सतहीमा नभई समाचार गहिराई सम्म पुगेर सम्प्रेषण गर्नु पर्ने बताएका थिए । उनले सरकारी नीति नियमलाई स्पष्ट रुपमा बुझेर कानुनत समाचार सम्प्रेषण गर्न  सके उपभोक्ता र कर्मचारी दुबैलाई फाईदा पुग्ने बताए । 
प्याब्सन रुपन्देहीका अध्यक्ष सुदीप केसीले संस्थागत  विद्यालयमा भएका नकारात्मक कुराहरुलाई जोडतोडका साथ  उठाउने र राम्रा कुराहरुलाई राम्रो सँग नउठाउने प्रवित्ति  हटाउनु पर्ने बताए ।  पत्रिकामा सत्यतथ्य कुराहरु ल्याउनुपर्ने भन्दै  विज्ञापनको कुरालाई मात्र ध्यानमा राखेर पत्रकारिता गर्न नहुने बताए । उनले पत्रकारिताले ग्रामिण क्षेत्रको समस्या र अवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । उनले समाजका नकारत्मक कुराहरु मात्र नभई सकारात्मक कुरालाई अगाडि ल्याउन सके पत्रकारितामार्फत  विकास हुने बताए । 
एन प्याब्सन, रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले  पत्रकारिता हिजो र आजको कुरा भन्दा पनि पत्रकार समाज रुपान्तरणको लागि तयार हुनुपर्ने बताए ।  उनले पत्रकारितामा बढि राजनीतिक झुकाव हुन नहुने भन्दै यो पार्टीको पत्रिका हो भनेर ठ्याक्कै चिनिने गरी समाचार लेख्न नहुने बताए । उनले शिक्षाको सवालमा खोजमूलक शैक्षिक समाचार आउनु पर्ने भन्दै विकृती विसङ्गतिमुलक पत्रकारिताबाट टाढा रहनु  पर्ने बताए । 
नेपाल बार एशोसियन बुटवलका अध्यक्ष  डा. बुद्ध बहादुर थापाले  पत्रकारलाई विभिन्न क्षेत्रका गतिविधि र अवस्थाको बारेमा जानकारी हुनु आवश्यक रहेको बताए । बुटवलको क्षेत्रमा पत्रकारिता चलाउनको लागि निकै समस्या रहेको भन्दै  पत्रकारिताको प्रमुख लक्ष्य भनेको समाजमा चलिरहेको द्वन्द्वलाई न्युनिकरण गर्नेतर्फ हुनुपर्ने बताए ।  कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष लालहरी पाण्डेले  जनताको चेतनावृद्धिको लागि पत्रकारिता गर्नुपर्ने बताए । उनले  मानवअधिकारका पक्षलाई समेत पत्रिकाले स्थान दिनुपर्ने बताए । 
उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाले  खोज पत्रकारितामा बढि ध्यान दिनु पर्ने बताए ।  कपी गरेको समाचार  तानतुन पारेर भर्नु भन्दा पनि जनताको जनजिवनको बारेमा ध्यान  दिनु पर्नेमा उनको जोड थियो ।  २९ पौष २०७० सालमा बुटवल टुडेमा प्रकाशित अंकुर ब्राण्डको खानेतेल कारबाहीमा आनाकानी शीर्षक समाचार खोज पत्रकारिताको नमुना भएको भन्दै पत्रकार कृष्ण खनालको प्रसंसा गरे ।  उक्त समाचारलाई विभिन्न स्थानमा कार्यपत्रको रुपमा समेत प्रस्तुत गरेको  बताएका थिए । 
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षक विद्यार्थीहरुको कुरामात्र नभई अभिभावकहरुको आवाजलाई पत्रिकाले  विशेष ध्यान दिन  आग्रह गरेका  थिए । उनले शैक्षिक क्षेत्रमा हुने गरेका विकृती विसङ्गतीलाई चिरफार गरेर समाचार सम्प्रेषण गर्न सकेमा समाजका लागि न्याय हुने  बताएका थिए । 
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले लोकतन्त्रमा सामाजिक विषयबस्तु उठान गर्न जरुरी रहेको  बताए । उनले पत्रकारिता पक्ष विपक्ष र राजनीतिकमा विभाजन हुन नहुने भन्दै सामाजिक विषयमा केन्द्रित हुन आग्रह गरे । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले ढुवानी व्यवसायीको  समस्यालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्नको लागि आग्रह गरेका थिए । उनले सरकारले तोकेको भाडा समेत उठाउन नपाईरहेको अवस्थामा सरकारको ध्यानकर्षण गर्ने खालको समाचार प्रकाशन गर्न सके ढुवानी व्यवसायी पलायन हुननपर्ने अवस्था सृजना बताए । 
नेपाल ईन्जिनियर एशोसिएसन लुम्बिनीका अध्यक्ष दुजेन्द्र बस्नेतले पत्रकारिताले देशलाई सहि दिसा प्रदान गर्नको लागि विशेष भुमिका खेल्नुपर्ने बताए । उनले  पत्रिकालाई मर्यादित बनाउन सके पत्रिकाको गरिमा उँचो हुने बताए ।  
बुुटवल उद्योग बाणिज्य संघका महासचिव हरि अर्यालले  पत्रकारिता  सुशासनयुक्त पत्रकारिता हुनु आवश्यक रहेको  बताए । व्यवसायिकताको नाममा चौथो अंग पार्टीको पत्रकारिता हुनु नहुने भन्दै पत्रकारितामा विश्वनियता र निस्पक्षता जरुरी रहेको बताए ।   पत्रकारिताको आडमा भएका विकृतीलाई अन्त्य गर्न आवश्यक रहेको भन्दै  उनले  सचेत नागरिकको भूमिकाको रुपमा पत्रकारितालाई उभ्याउनु पर्ने बताए । 
औषधि व्यवसायी संघ लुम्बिनीका अध्यक्ष सुनिल श्रेष्ठले केही कार्यक्रमका विषयहरु पत्रिकामा आउने  गरेको भन्दै खोजीको विषय सबै पत्रपत्रिकामा कमै आउने  गरेको बताएका थिए । उनले सबै  संस्थाको समाचारलाई पत्रिकाले स्थान समान स्थान दिनुपर्ने बताए । 
रुपन्देही उद्योग संघका महासचिव  विष्णु कुमार श्रेष्ठले  समग्र राष्ट्रको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा मिडिया लाग्नु पर्ने बताए । उनल मान्छे निर्यात गर्ने सामान आयात गर्ने परिपाटी कसरी अन्त्य गर्नुपर्दछ भन्ने विषय मिडियाले उठाउनु पर्ने बताए ।  औद्योगीक क्षेत्रको व्यवस्थान हुन नसकेको अवस्थामा निजी क्षेत्रबाट उद्योगहरु कसरी स्थापना हुने अवस्था सृजना हुनसक्छ भन्ने विषय मिडियाले विशेष महत्वको साथ  उठाउन जरुरी रहेको बताएका थिए । 
त्यस्तै रुपन्देही व्यापार संघका महासचिव  डिल्लीराज  भणडारीले आम उद्योगीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा मिडियाले उठाउन जरुरी रहेको बताएका थिए । उनले बढ्दो उर्जा संकट कम गर्न सरकारलाई दवाव दिनको लागि मिडिया सहयोगीको रुपमा लाग्नु पर्ने बताएका थिए । उनले औद्योगीक  नीतिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा मिडियाको ध्यान जानुपर्ने बताएका थिए । 
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष यमलाल लोहनीले पाठ्य पुस्तक सही वा गलत के बेचिरहेका छन् भन्ने विषयमा मिडियाले निरन्तर निगरानी गरिरहनुपर्ने बताएका थिए ।  
लायन्स क्लब अन्तर्राष्ट्«िय  पुर्व डिजी महेन्द्र नारायण श्रेष्ठले आगामी दिनमा पत्रकारिताको हक हितको लागि धेरै काम गर्न आवश्यक रहेको बताए । उनले पत्रकारिता र पत्रकारमा मौलिकता आउनु पर्ने आवश्यक रहेको भन्दै   खोज पत्रकारितामा जोड दिनुपर्ने बताए । रोटरी जोन १८ का डिजी टंक पराजुलीले क्लब तथा सामाजिक संघ संस्थाका कुराहरुलाई बढि प्राथमिकताको साथ उठाउनको लागि आग्रह गरेका थिए । 
लुम्बिनी टेलिभजिनका अध्यक्ष विष्णु पन्थी, बुटवल एफएमका अध्यक्ष रुप किसोर लाकौल, बुद्ध टेलिभिजनका अध्यक्ष बेन बहादुर पौडेल, दैनिक लुम्बिनीका अध्यक्ष एम् वि विश्वकर्मा, मेचिकाली दैनिकका अध्यक्ष होमराज  बस्याल, तिलोत्तमा दैनिकका अध्यक्ष जनक कोईराला, राष्ट्रिय मिडियाहरुको तर्फबाट पत्रकार दामोदर खनाल लगायतले बोल्दै  पत्रकारितामा राम्रो कार्य गर्नेहरुलाई पुरस्कृत र हौसला प्रदान गर्नुपर्ने बताएका थिए ।  उनीहरुले पत्रकारितामा धेरै समस्याहरु रहेको भन्दै केही समस्या समाधानको लागि पत्रकार नै अगाडि बढ्नु पर्ने बताएका थिए ।  पत्रकार भरत भुषालले संक्षेपीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य  र कार्यक्रमको उद्देश्यबारे  बुटवल टुडेका प्रधान सम्पादक सूर्य रानाले प्रकाश  पारेका थिए भने कार्यक्रममा धन्यवाद मन्तव्य पब्लिकेशनका सञ्चालक कमल भण्डारीले  दिएका थिए । 
फिचर लेखन  पुरस्कार अनमोललाई


बुटवल, १९ मंसिर (बुटुस)–  दोस्रो बार्षिकोत्सवको अवसरमा बुटवल टुडेले आयोजना गरेको उत्कृष्ट फिचर लेखन पत्रकारिता पुरस्कारबाट नगदसहित पत्रकार अमृता अनमोल पुरस्कृत भएकी छन् । बालबालिका र महिला सम्बन्धि विषयमा आधारित फिचर लेखनमा आधा दर्जन सहभागी मध्ये उनलाई छनोट समितिले उत्कृष्ट ठह¥याएको हो । फिचर छनौट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी रहेका थिए । बुटवल टुडे दैनिकले बार्षिकोत्सवको अवसरमा हरेक बर्ष कुनै एक विषयमा फिचर लेखन प्रतियोगिता गराउँदै आएको छ । 
बार्षिकोत्सवको अवसरमा उत्कृष्ट पत्रकारको रुपमा कृष्ण मल्ल र उत्कृष्ट कर्मचारीको रुपमा दिपा पौडेलाई नगद सहित सम्मान गरिएको थियो । त्यसै  उत्कृष्ट लेखक दिपक रोका र उत्कृष्ट वितरक विजय पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार कृष्ण खनाल र कर्मचारी  प्रमिला पौडेललाई पदोन्नति गरिएको थियो । यसैगरी बार्षिकोत्सवको अवसरमा आयोजित शान्ति दौड प्रतियोगितामा विजयी प्रतियोगी र सहभागीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी विज्ञापन दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती