विद्यालय भर्ना अभियान २०७३, छुट्लान् है बालबालिका ?


कृष्ण खनाल
बुटवल, ३ बैशाख ।
तपाईको छरछिमेकमा विद्यालय नजाने बालबालिका छन् ? ५ देखि १२ बर्ष उमेरका विद्यालय नजाने बालबालिका छन् भने ख्याल गर्नुहोस् है । तपाईले विद्यालय लगेर भर्ना नगरिदिए उनिहरु शिक्षाबाट बञ्चित हुनसक्छन् । त्यसैले तपाई हामीले यसबारे गम्भिर भएर सोच्ने बेला आएको छ । 
अहिले नेपाल सरकारले नै विद्यालय बाहिर रहेका ५ देखि १
२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरेको छ  । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यस वर्ष ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो ।
रुपन्देही जिल्ला लगायत देशभर अहिले भर्ना अभियान सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको कार्यक्रम अनुसार वैशाख २ देखि १४ गते सम्म चेतनामूलक र प्रचारात्मक र वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा बताउछन् । 
विद्यालय उमेर भएका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित नहुन भन्ने मुख्य उद्देश्यले भर्ना अभियान सुरुवात गरिएको भन्दै जिल्ला शिक्षा अधिकारी थापाले सबैको सहकार्यमा यो अभियान सार्थकता पाउने धारणा राखे । केन्द्रीय कार्यक्रम अनुसार बैशाख १ गते देखि नै रुपन्देहीमा भर्ना अभियान सुरुवात गरेको भन्दै जिल्ला शिक्षा थापाले विद्यालय उमेरका वालवालिका कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने ढंगले कार्यक्रम अगाडी बढाइएको जानकारी दिए । संवाददातासंगको कुराकानीमा उनले भने–‘राष्ट्र व्यापीरुपमा सुरु भएको विद्यालय भर्ना अभियान रुपन्देहीमा पनि सफल बनाउनको लागि अभिभावक, शिक्षक, सचेत नागरिक सबैको साझा दायित्व हो ।’
समयमा पाठ्यपुस्तकको अभाव हुने विगतको नतिजाले देखाएको भन्दै जिल्ला शिक्षा अधिकारी थापाले भर्ना अभियानकै क्रममा विद्यार्थीहरुलाई पाठ्यपुस्तक पु¥याउने अभियान पनि चलाइने जानकारी दिए । उनले कक्षा १ देखि ५ कक्षासम्मको कुनै पाठ्यपुस्तक कमी नभएको समेत जानकारी दिए । 
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आज शनिवार विद्यालय भर्ना अभियान तथा पाठ्यपुस्तकको विषयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सञ्चार माध्यमबाट यसको व्यापक प्रचार गरिने र गत चैत्र २८ र २९ गते पाठ्यपुस्तक अनुगमन समितिको बैठक राखिएको र सो बैठकबाट कहि कतै पाठ्यपुस्तक कमी भएको पाइएमा तुरुन्त परिपुर्ती गर्ने तयारी समेत गरेको जानकारी  समेत दिए । 

जिल्ला शिक्षा अधिकारी थापाले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उनले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । अभियान अन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधारलगायत कार्यक्रम समावेश छन् ।
शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नका लागि नियमित विद्यालय, खुला विद्यालय, वैकल्पिक विद्यालय, वैकल्पिक सिकाइ केन्द्र र सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् । शिक्षा विभागका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले शैक्षिक तथ्याङ्क २०७१ अनुसार प्राथमिक विद्यालय तहमा प्राथमिक उमेर समूह ५–९ वर्षका विद्यार्थीको खुद भर्ना दर ९६ दशमलब २ प्रतिशत रहेको छ । 
प्राथमिक तह उमेरका छात्र ४९ हजार ३५१ र छात्रा ५६ हजार ९५६ गरी कूल एक लाख ६३ हजार ७ जना बालबालिका विद्यालय बाहिर रहेको, आधारभूत तहमा छात्र दुई लाख ७९ हजार ८०० र छात्रा दुई लाख ६१ हजार ७४२ गरी कूल पाँच लाख ४१ हजार ५४२ जना रहेका छन् । प्राथमिक तहका ३.८ र आधारभूत तहका १२.४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।
त्यस्तै ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार १४८ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको र पाँच लाख ५८ हजार ९२५ छात्र र छ लाख २९ हजार ७६ छात्रा गरी ११ लाख ८८ हजार १ बालबालिका अझै विद्यालय बाहिर रहेको अर्यालले जानकारी दिनुभयो । जसमध्ये १० लाख ९२ हजार ३४२ जना बालबालिका दुर्गम क्षेत्रका र बाँकी सहरी क्षेत्रका विद्यार्थी विद्यालय बाहिर रहेका छन् ।
पाँच वर्षका ३६ प्रतिशत, छ वर्षका २१ प्रतिशत, सात वर्षका १३ प्रतिशत, आठ वर्षका १२ प्रतिशत, नौ वर्षका ७ प्रतिशत, दश वर्षका १० प्रतिशत, ११ वर्षका ७ प्रतिशत, १२ वर्षका १० प्रतिशत, १३ वर्षका ८ प्रतिशत, १४ वर्षका १२ प्रतिशत, १५ वर्षका १८ प्रतिशत र १६ वर्षका २५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।
सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर भएका १५ जिल्लामा रौतहट, सर्लाही, धनुषा, महोत्तरी, बारा, सिरहा, पर्सा, सप्तरी, कपिलवस्तु, रुपन्देही, सुनसरी, मोरङ, बाँके, कैलाली र काठमाडौँ परेको छ ।
प्राथमिक तह (१–५) कक्षामा औसत खुद भर्ना दर ९६ दशमलब २ प्रतिशतभन्दा कम रहेका जिल्लामा ताप्लेजुङ, इलाम, भोजपुर, झापा, सुनसरी, दोलखा, मनाङ, मुस्ताङ, धनुषा, बारा, चितवन, ललितपुर, म्याग्दी, बागलुङ, सप्तरी, सिराहा, पर्सा, कपिलवस्तु, रौतहट, ,रुकुम, दैलेख, जाजरकोट, दाङ, बर्दिया, बाजुरा, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, डोल्पा, जुम्ला, मुगु, कालीकोट, कञ्चनपुर, रुपन्देही, प्यूठान, सोलुखुम्बु र पर्वत रहेका छन् ।
आधारभूत तह (१–८) र औसत खुद भर्ना दर ८७ दशमलब ६ प्रतिशतभन्दा कम भएका जिल्लामा मनाङ, मुस्ताङ, धनुषा, बारा, महोत्तरी, सर्लाही, सिरहा, सुनसरी, सप्तरी, पर्सा कपिलवस्तु, रौतहट, प्युठान, रोल्पा, डोटी, हुम्ला, डोल्पा, रुपन्देही र बाँके रहेका छन् । वि.स. २०६१ सालदेखि नेपालमा औपचारिक रुपमा भर्ना अभियान सुरुवात भएको पाईन्छ । 
यता, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालयमा विद्यार्थीहरु भर्नाको लागि अभिभावक नै प्रमुख रुपमा सचेत हुनुपर्ने बताउछन् । उनी भन्छन्–‘कुनै पनि वालवालिकाको पहिलो पाठशाला भनेको घरपरिवारहो, अनि विद्यालय, घरपरिवारबाट नै विद्यर्थीहरुलाई भर्ना गर्नुपर्दछ, शिक्षा प्रदान गर्नुपर्दछ भन्ने धारणाको विकास हुनु जरुरी छ ।’
रुपन्देहीको खासगरी दक्षिणी क्षेत्रका अभिभावकहरुमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नुपर्दछ भन्ने धारणाको विकास अझै नभएको भन्दै उनीहरुको लागि विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने उनको भनाई रहेको छ । नेपाल सरकार लगायतका अन्य नीजि संघ संस्थाहरुले विद्यालयमा भर्नाका  लागि प्रत्येक बर्र्ष अभियान सञ्चालन गरिएको भएपनि त्यसले सार्थकता नभएको भन्दै सबैको साझा पहल भएमा मात्र यो अभियानले सार्थकता पाउने धारणा राखे । 
उनी नेपाल सरकारले नै सञ्चालन गरेको अभियानलाई सार्थक बनाउनको लागि सबैको सहयोग अपरिहार्य भएको भन्दै आफ्नो घर, छरछेमेकमा कुनै पनि वालवालिका विद्यालय जानबाट बञ्चित भएका छन् भने ति अभिभावक तथा वालवालिकाहरुलाई सहयोग गर्नुपर्ने बताउछन् ।
दैनिक जिविको पार्जनगरी जिविकोपार्जन गर्दैै आएका विपन्न परिवारको लागि   विद्यार्थी भर्ना गर्नुपनि समस्यको विषय भएको भन्दै उनले गरिवी न्युनीकरणको लागि सरकारी तथा गैरसरकारी संस्था लाग्नुपर्ने बताउछन् । 
बैशाख १ गते देखि नै विद्यार्थी भर्ना अभियान सुरुभएकोमा १ गते सार्वजनिक विदा परेको थियो । २ गते बाट नेपाल सरकारले औपचारिक रुपमा विद्यालय भर्ना अभियान सुरु गरेको हो । ३ गते रामनवी परेको कारण सार्वजनिक विदा र ४ गते शनिवार परेको कारण सार्वजनिक विदा भएको कारण तिब्ररुपमा यहि बैशाख ५ गते अर्थात आईतबार देखि विद्यार्थी भर्ना अभियान अगाडी बढ्ने जनाइएको छ । 


ब्रेकरः
नेपाल सरकार शिक्षा मन्त्रालयको कार्यक्रम अनुसार वैशाख २ देखि १४ गते सम्म चेतनामूलक र प्रचारात्मक र वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा बताउछन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै