निःशुल्क औषधीको अभाव

कृष्ण खनाल
बुटवल, १ मंसिर । 


भारतले गरेको नाकाबन्दीको कारण पश्चिमाञ्चलमा नेपाल सरकारले प्रदान गर्ने ४० प्रकारका निःशुल्क औषधी अभाव हुने संकेत देखिएको छ । नेपाल सरकार स्वाथ्य मन्त्रालय अन्र्तगतको क्षेत्रीय मेडिकल स्टोर बुटवलका अनुसार अहिले स्टकमा रहेको करिव ५० प्रतिशत औषधीको अभाव सुरु भईसकेको छ । क्षेत्रीय मेडिकल स्टोर्स बुटवलका प्रमुख नारद प्रसाद साहनीका अनुसार नेपाल सरकारले उपलब्ध गराउँदै आएको औषधी मध्ये करिव ५० प्रतिशत औषधीको अभाव सुरु भएको हो । 
अहिले नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालयको औषधी आपुर्ती  विभागबाट यस क्षेत्रका विगत महिनाको तुलनामा करिव आधा मात्र औषधी आपुर्ती हुदै आएको छ । जसको कारणले गर्दा पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लामा जाने औषधीको आपुर्ती परिमाण पनि आधाले कमी आएको छ । पश्चिमाञ्द क्षेत्रीय मेडिकल स्टार्स प्रमुख सहानी भन्छन्–‘केन्द्रबाट औषधी आएको छैन, जसको कारणले गर्दा जिल्ला जिल्लामा पनि औषधी पहिलाको भन्दा आधा मात्र पठाएका छौं ।

भारतले गरेको नाकाबन्दीको कारण ईन्धन अभाव हुँदा केन्द्रमा रहेको औषधी ढुवानीमा समेत समस्या देखिएकोले थप औषधी अभाव हुने संकेत देखिएको हो । क्षेत्रीय मेडिकल स्टोर बुटवलका प्रमुख साहनीले थपे–‘अहिले आईरन चक्की, जिङ्ग चक्की, केही एन्टीबायटीक विसीजी खोप, जिवनजल लगायतका अधिकांस निःशुल्क उपलब्ध हुने औषधी अभाव सुरु भएको छ ।’ 
नेपाल सरकारले यस बर्ष देखि ७० प्रकारका औषधी निःशुल्क रुपमा उपलब्ध गराने घोषणा गरेको थियो । तर व्यवाहरमा पुर्णरुपमा अहिले सम्म पनि कार्यान्वयन हुन सकेको छैन । अहिले नेपाल सरकारले जम्मा ४० प्रकारका औषधी मात्र निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । 
यस भन्दा पहिला पनि नेपाल सरकारले जिल्लाबाट आएको माग अनुसार आईरन चक्की उपलब्ध गराउन सकेको थिएन । झनै अहिले भारतले गरेको नाकाबन्दीको कारण औषधी ढुवानी र आयातमा समस्या देखिएपछि गर्भवती र सुत्केरी महिला ले खाने आईरन चक्की झनै अभाव भएको छ ।  
पश्चिमाञ्चल विकास क्षेत्रमा प्रत्येक महिना करिव २ हजार प्रति आईरन चक्कीको माग हुने गर्दछ । तर क्षेत्रीय मेडिकल स्टोर्सले जम्मा १००0 वटा मात्र पठाउने गरेको थियो । तर यस पाली झनै आपुर्ती घटाएको छ ।  
पश्चिमाञ्चल बिकाश क्षेत्रका १६  जिल्लामा औषधी बितरणको काम गदै आएको पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर बुटवलले स्टोरमा भएको औषधीले मात्र लामो समय धान्न नसक्ने र केन्द्रीय औषधी आपुर्ति व्यवस्था बिभागले पुरानै माग अनुसार आपुर्ति दिन नसकेकाले जिल्लाले मागे अनुसारको औषधी दिन नसकेको जनाएको छ । 
यसरी सरकारले उपलब्ध गराउदै आएको औषधी जिल्ला जनस्वाथ्य कार्यालय मार्फत जिल्ला अस्पताल, स्वाथ्य चौकी, ईलाका स्वाथ्य चौकी, प्रथमिक स्वाथ्य चौकी लगायतका सरकारी निकायबाट निःशुल्क रुपमा वितरण गर्दै आएको छ । 
तर सरकाले गरिब, विपन्नहरुलाई प्रदान गर्ने औषधी समेत अभाव हुँदा यसको प्रत्यक्ष प्रभाव विपन्न समुहदायमा पर्ने देखिन्छ । यसको अलवा नेपाल सरकारले मात्र आपुर्तीको व्यवस्था मिलाएको  टीवी(क्षयरोग)को औषधी र विसिजी खोप नीजी मेडिकल तथा क्लिनीकहरुमा पाउन मुस्कील छ । पाइएपनि अति महङ्गो पर्ने भएकोले यसको पहुँमा पुग्नको लागि समेत थप समस्या हुने देखिन्छ ।  सरकारी संस्थाको पहुचमा नभएका गाउँ–गाउँमा रहेको जनताहरु नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गर्ने औषधी नपाउँदा झनै समस्यमा पर्ने देखिएको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती