कार्यान्वय भएन सुर्तिजन्यपदार्थ नियन्त्रण ऐन



धुम्रपान र  सुर्तीसेवनले प्रतिबर्ष १५ हजारको मृत्यु 
कृष्ण खनाल
बुटवल, १६ चैत । 
नेपालमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ लाई कार्यान्वय गर्ने नियमावली २०६९ पारित भएको ४ बर्ष भन्दा बढि भएको छ । तर उक्त ऐनको पुर्णरुपमा कार्यान्वयन नहुँदा प्रत्येक बर्ष सुर्तीजन्य पादार्थ सेवनबाट मृत्युहुनेहरुको संख्यामा कमि आएको छैन ।
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वाथ्य अधिकृत ऋषिप्रसाद लामिछानेका अनुसार २७ वटा दफाहरु रहेका ऐनको सबै दफाहरु प्रारम्भ भै सकेका छन् । मुुख्यतः धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोक्ताहरुलाई यसले लक्षित गरेको उक्त ऐन पुर्ण रुपमा कार्यान्वन हुन सकेको छैन ।  नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार नेपालमा  धुम्रपान तथा सूर्ति सेवनबाट प्रति वर्ष १५,००० मानिसहरुको मृत्यु हुन्छ भने  धुम्रपान तथा सूर्ति सेवनबाट विश्वमा प्रति वर्ष ६० लाख  मानिसहरुको मृत्यु हुने गरेको छ । विश्वमा धुम्रपान र सुर्तीजन्य बस्तुको सेवनबाट मर्नेहरुमा १० प्रतिशत दक्षिणपूर्वी एशियाली क्षेत्र रहेका छन् । उक्त क्षेत्रमा १२ लाख मानिसहरु मृत्यु हुने गरेको छ । 
नेपालमा ३० बर्ष माथिका १ लाख पुरुष मध्ये २६१ जना र  १ लाख महिलामा २५ जनाका मृत्यु सूर्तिजन्य पदार्थ सेवनको कारणले  गरेको जिल्ला जनस्वाथ्य कार्यालय  रुपन्देहीका बरिष्ठ जनस्वाथ्य अधिकृत लामिछाने बताउछन् । सूर्तिजन्य पदार्थ सेवनबाट मृत्यु पूरुषमा १५ प्र्रतिशत र महिलामा २ प्रतिशत  रहेका छन् । 
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ ले राज्यका निकाय, स्वास्थ्य संस्था, शिक्षण संस्था, विमान तथा बिमानस्थल, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेष्टुरेण्ट, चलचित्र, नाट्यशाला, खेलकुद क्षेत्र, डिपार्टमेन्ट स्टोर, मिनी मार्केक, र धार्मिक स्थल, टिकट काउन्टर जस्ता धेरै मानिसहरु कार्य गर्ने र जम्मा हुनेकुनै पनि सार्वजनिक स्थलहरुमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाईने व्यवस्था गरेको छ तर उक्त नियम पुर्ण रुपमा कार्यान्वयन भएको पाईदैन । 
उक्त ऐनमा १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने, कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य सार्वजनिक स्थलबाट कम्तीमा १०० मीटर भित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । 
तर रुपन्देहीका अधिकांस सरकारी कार्यालय, स्वाथ्य संस्थामा खुलेयाम रुपमा सुर्तीजन्य बस्तुको विक्रि वितरण भईरहेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलले भाडामा लगाएका केही सटरहरुमा व्यापारीक नाममा सुर्तीजन्य बस्तु र मदिराको समेत कारोवार हुने गरेको छ । 
कानुनलाई नै धज्जी उठाउदै अस्पताले व्यापारीक नाफा कमाउनको लागि भाडामा लगाएको सटरमा यस्तो व्यापारीकरण हुँदा नियमकारी निकाय अस्पताल विकास समिति र सम्बन्धी अस्पताल प्रशासनले कुनै चासो दिएको छैन । 
उक्त ऐनमा कुनै पनि व्याक्तिले फुटकर रुपमा चुरोट, विडी वा सिगारको खिल्ली वा कच्चा सूर्ति विक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यबस्था गर्न सक्ने उल्लेख गरेको छ । तर त्यसको पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । कुनै उद्योगले चुरोट, विडी वा सिगारको आकारमा कुनै पनि वस्तुको उत्पादन गर्न नपाउने व्यवस्था ऐनले गरेको छ । 
एक तथ्यांक अनुसार विश्वका ४ मध्ये १ जना वयस्क १ अरब (८० करोड पुरुष र २० करोड महिला), २० प्रतिशत भन्दा बढी मानिस धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्छन् । नेपालमा करीब ८४ लाख ९६ हजार मानिस धुम्रपान  तथा सूर्तिजन्य पदार्थ सेवन गर्छन् ।  ५२ प्रतिशत पुरुष र  १३.३ प्रतिशत महिलाहरुले सूर्तिजन्य पदार्थको सेवन गर्छन ।  नेपालका कूल २२.८ मानिसहरु सूर्तिजन्य पदार्थको सेवन गर्छन ।
जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका अधिकृत तथा सुचना  प्रमुख कृष्ण प्रसाद पोखरेलका अनुसार सूर्तिजन्य पदार्थ सेवनबाट क्यान्सर, दम तथा जीर्ण श्वासप्रश्वास रोग, मधुमेह, मुटुरोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थबाट  बचाउनको लागि युवा तथा बयस्कहरुमा धुम्रपान तथा सूर्तीे सेवन सुरु नगर्ने भावना जगाउने, युवाहरु तथा समाजका अन्य व्यक्तिहरुलाई धुम्रपान तथा सूर्तीे सेवन त्याग्न उत्प्रेरित गर्ने, धुम्रपान नगर्नेहरुको धुवाँरहित वातावरणमा बस्न पाउने   नैसर्गिक अधिकारको संरक्षण गर्ने, लगायतका उपभायहरु अवलम्बन गर्नु पर्ने उनको भनाई  छ । यसको साथै धुम्रपान तथा सूर्तीे सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिकखराबीहरुबारे चेतना अभिवृद्धि गरी धुम्रपान र सूर्ति रहित जीवनपद्धति अपनाउन उत्प्रेरित गर्ने अभियान चलाउनु पर्ने आवश्यकता छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती