अञ्चल अस्पतालको आफ्नै खाता आर्थिक चलखेल हुने आशंका बढ्यो

कृष्ण खनाल
बुटवल, ६ माघ ।
 सरकारी स्वामित्वमा रहेको लुम्बिनी अञ्चल अस्पताल विकास  समितिले केही समय पहिला कोष तथा लेखा नियन्त्रण कार्यालयको मातहतमा सञ्चालन ल्याइएको बैंक खाता बन्द गराएर पुनः विकास समितिको खाता सञ्चालनमा ल्याएको छ । विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै केही समय  पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छा
पा हानेर कागजपत्र नियन्त्रणमा लिएको थियो । अस्पतालमा निःशुल्क पाइने औषधीको व्यापक दुरुपयोग भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । यद्यपी अहिलेसम्म अख्तियारले यस विषयमा कुनै तथ्य वाहिर ल्याएको छैन  ।  
आर्थिक अनियमतिता हुने गरेको आशंकामा अतियारले छापा मारेको केही समयमा लुम्बिनी अञ्चल अस्पताल बुटवलको खाता सरकारी निकाय कोष तथा लेखा नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले सञ्चालन गर्दै आएको थियो । तर केही दिन पहिला मन्त्रालयबाट निर्णय भएर आएको भन्दै लुम्बिनी अञ्चल अस्पतालले आफ्नै विकास कोषको बैंक खाता  खोलिएको जनाएको छ । 
अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत तथा सुचना अधिकारी लक्ष्मीराज रेग्मीले मन्त्रालयबाट आफ्नै खाता खोल्नु भनेर आदेश आएको कारण अहिले विकास कोषको  नाममा बैंक खाता खोलिएको बताएका छन् । उनले पहिला  कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंक खाता सञ्चालन गरिरहदा धेरै अप्ठ्यारो भएको तर अव सहज हुने आशा पलाएको बताएका छन् । उनले यसो भनिरहदाँ उक्त अस्पतालका सटर भाडा लिएर विभिन्न व्यवसाय गर्र्दै आएका व्यवसायीहरुले भष्ट्राचार गर्ने काम सुरु भएको  टिप्पणी गरेका छन् । 
एक सटर व्यवसायीले भने–‘पहिला सानो सानो कामको लागि पनि कोष (कोष तथा लेखा नियन्त्रण कार्यालय) मा जानुपर्दछ, अव आफ्नै खाता भएपछि जे जती रकम निकालेर काम एउटा दाम अर्को बनाउन विकास समितिलाई सहज हुनेभयो ।’

अस्पतालले भाडामा लगाएका सटरहरुको भाडा व्यवसायीहरुले अस्पताल विकास समितिको बैंक खातामा नभई कोष तथा लेखा नियन्त्रण कार्यालयले व्यवस्थीत गरेको खातामा मासिक भाडा रकम जम्मा गर्दै आएका थिए । जसबाट यथार्थ विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी गराउदै आएको थियो । 
तर अव भने विकास समिति आफैले बैंक खाता सञ्चालन गरेर रकम झिक्ने अधिकार पाएको छ । सिफारिसको आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्ने काम अव आफैले गर्न थालेपछि आर्थिक पारदर्शीतामा झनै शंका पैदा भएको अर्का सटर व्यवसायीले बताए ।  विकास समितिले अव आगामी दिनमा विकास समितिकै बैंक खातामा भाडा वापतको रकमा जम्मा गर्नु भन्दै पत्र समेत पठाएको छ । 
लुम्बिनी अञ्चल अस्पताल बुटवलका सुचना अधिकारी लक्ष्मीराज रेग्मीले मन्त्रालयबाट आएको निर्देशन अनुसार विकास समितिको खाता खोलिएको बताएका छन् । उनले अव अस्पतालको अफ्नै खाता खोलिएपछि विरामी को धरौटी रकम जम्मा गरिएको फिर्ता गर्न सहज हुने दावि गर्छन् । उनी भन्छन्–‘विगतका दिनमा धरौटी रकम फिर्ता गर्नको लागि ३, ४ दिन लाग्दथ्यो भने अव सोही दिनमा नै काम  हामी गछौं ।’
कोष तथा लेखा नियन्त्रण कार्यालय भैरहवामा लेखा प्रमुख टंक पंगेनीले मन्त्रालयको निर्देशन अनुसार नै लुम्बिनी अञ्चल अस्पताल को खाता विकास  समितिको नाममा नै सञ्चालन हुने  अनमती दिएको जानकारी दिए । उनले भने –‘पहिला कोष तथा लेखा नियन्त्रण कार्यालयबाट नै सञ्चालन गर्दथ्यो, तर अहिले पछिल्लो समयमा विकास कोष नै सञ्चालन गरेको छ ।’
विकास समितिले  पहिला बुटवलको बाणिज्य बैंकमा ३१२०२०६०००००३ नम्बरको खाता खोलेको थिए । त्यस पश्चात कोष तथा लेखा नियन्त्रण कार्यालयले उक्त खाता बन्दा गराई आफ्नै खाता बाणिज्य बैंकमा नै ३१२०२०६००००००‘ख’‘६’ नम्बरको खाता व्यवस्थापन गरेको थियो । जसमा नै व्यसायीहरुले सटर भाडा मार्फतको भाडा रकम जम्मा गर्दै आएका थिए । विरामीका आफन्तले विरामी बापतको धरौटी रकम पनि सोही खातामा जम्मा हुदै आएको थियो ।  अहिले नयाँ खाता ३१२०२०६०००००० नम्बरको खाता खोलेको छ । जुन खाता बाणिज्य बैंकमा हो । 
लुम्बिनी अञ्चल अस्पतालबाट सरकारले गरीब, अपांग, जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क वितरण गर्न दिएको औषधी दुरुपयोग भएको उजुरी यस अघि पटक पटक परेको थियो । निःशुल्क औषधिका लागि गत आर्थिक वर्षमा मात्रै २ करोड रुपैयाँ बराबरको औषधी खरिद गरेको बिल भरपाई अस्पतालले देखाएको थियो । तर औषधी लक्षित वर्गभन्दा बाहिरका वितरण र बिक्री समेत गरेको पाइएपछि अख्तियारले छानबिन शुरु गरेको थियो । पश्चिमाञ्चलकै सबैभन्दा पुरानो लुम्बिनी अञ्चल अस्पतालमा रुपन्देही, नवलपरासी, दाङ, प्यूठान, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा लगायत भारतबाट समेत विरामीहरु आउने गरेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती