ई–रिक्सा चलाउन अनिवार्य लाईसेन्स बुटवलमा पहिलो पटक ट्रयाल
कृष्ण खनाल
बुटवल, १० माघ ।
यस क्षेत्रमा विद्युतीय रिक्सा सञ्चालनमा आएपनि लाईसेन्सको व्यवस्थापन हुन सकेको थिएन । जसको कारण कुनै दुर्घटना चालक तथा अन्यले जोखिम मोल्नुपर्ने बाध्याता थियो । पटक पटक व्यवसायीहरुले विद्युतीय रिक्साको ट्रायाल परिक्षा गरी लाईसेन्स दिनुपर्ने माग उठाउदै आएका थिए । जुन मागको सुनवाई भएको थिएन । तर सोमबारबाट बुटवलमा पहिलो पटक विद्युतीय रिक्साको ट्रायल सुरु भएको छ । सवारी चालक अनुमति पत्र (लाईसेन्स) कार्यालय लुम्बिनीले पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलको संयोजनमा सोमबारबाट बुटवलमा पहिलो पटक विद्युतीय रिक्साका लाईसेन्स वितरणको लागि ट्रायल सञ्चालन गरेको हो ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र (लाईसेन्स) लुम्बिनीका प्रमुख बेद प्रकास अर्याल ले व्यवसायीहरुको माग बढ्दै गएको कारण चालक अनुमती पत्रको लागि आवेदन संकलन गरी परिक्षा समेत सञ्चालनगरी ट्रायल सञ्चालन गरिएको जानकारी दिए । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको संमन्वयमा बुटवल–१३ देविनगरमा रहेको ट्रायल सेन्टरमा ई–रिक्सा चालकहरुलाई (ग) बर्गको लाईसेन्स परीक्षा लिइएको हो ।
‘ग’ बर्गको लाईसेन्सले विद्युतीय रिक्सा सञ्चालन गर्न पाईन्छ । अहिले बुटवलमा टेम्पो र चार पाङग्रे लाईसेन्सको आधारमा विद्युतीय रिक्सा सञ्चालन गर्न दिइएको थियो ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी प्रकाश अधिकारीले अब ई–रिक्सा चालकहरुले लाईसेन्स विना रिक्सा चलाउन नपाईने बताए । उनले ई–रिक्सा व्यवस्थापनका लागि लाईसेन्स अनिर्वाय रहेकाले लाईसेन्सको परीक्षा सञ्चालन गरेको बताए । उनले यस क्षेत्रमा रहेका नगरपालिकाहरुले अस्थायी रुट प्रमिट दिएर भएपनि ई–रिक्सालाई व्यवस्थित बनाउन आग्रह गरे ।
सवारी चालक अनुमती पत्र कार्यालय लुम्निीका अनुसार आगामी दिनमा पनि ई–रिक्साको लाईसेन्स परीक्षा खुल्ला खुल्ने छ । लाईसेन्स परीक्षामा, बुटवल, चितवन, दाङ, नवलपरासी, कपिलबस्तु लगाएतका जिल्लाहरुबाट चालकहरु आएको थिए ।