मापदण्ड मिच्दै गाडी कुदाउँदा एकातिर बनाउँदै, अर्कोतिर भत्किदै

कृष्ण खनाल
 बुटवल, ७ कार्तिक ।

सडकमा मापदण्ड विपरीतका गाडी चल्दा सडकको आयु छोटिँदै गएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिँदा पिच भएका चिल्ला लोभलाग्दा सडक महिनादिनमै भत्किने गरेका छन् । यसको उदाहरण बुटवल बेलहिया व्यापारीक सडकको अवलोकन गरे पुग्दछ । 
निर्माणाधीन बुटवल–वेलहिया व्यापारिक सडकमा गुड्ने आधाभन्दा बढि यातायातका साधनहरूले ओभरलोड बोक्ने गरेको कारण सडक बिग्रीदै गएको हो । बुटवलदेखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाकासम्म अहिले फोरलेन सडक निर्माण भैरहेको छ । निर्माणाधिन सडकको केही खण्ड पुरा भएको भएपनि ओभरलोड बोक्ने गाडीको कारण सडक पहिला नै विग्रीएको बेलहिया बुटवल व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिला बहादुर भण्डारी बताउँछन् । 
उनी भन्छन्–‘ओभरलोडले सडकको आयु कसरी र कति क्षति गर्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ, जिल्ला प्रसासन सँग पनि यस विषयमा कुरा भएपनि अझै ओभरलोड बोक्ने गाडीहरू रोकीएका छैनन् ।’
परियोजानका ईन्जीनियर भण्डारीका अनुसार हाल वेलहिया–बुटवल सडकमा सुनौली भन्सार नाकाबाट नेपाल भित्रने मालवाहक सवरी साधनले ल्याउने लोड ५५ हजार किलोदेखि ७० हजार किलोसम्म छ । खासगरी मार्वल, टायल, कच्चा फलामको विट, सिमेन्टको लागि किलिङकर लगायतका सामानहरू ल्याउने ढुवानीका साधनहरूले ओभरलोड बोक्दै आएका छन् । 
उनी थप्छन्–‘औषतमा सबै ढुवानी साधन कुल ६५ हजार किलो भन्दा बढि सामान बोक्दै आएका छन् जुन मापदण्ड विपरित छ ।’
 नेपाल सरकारले निर्माण गरेको भारवहन क्षमता अनुसार २ एक्सल ६ चक्केले कुल भार १६२०० के.जी सामानको मात्र भार ९६०० के.जी., ३ एक्सल १० चक्केले कुल भार २५००० के.जी सामानको मात्र भार १६५०० के.जी., ४ एक्सल १२ चक्केले कुल भार ३१००० के.जी सामानको मात्र भार २१००० के.जी. , ४ एक्सल १८ चक्केले कुल भार ४०२०० के.जी सामानको मात्र भार ३०२०० के.जी. मात्र बोक्न पाउँछन् । तर बुटवल वेलहिया सडकमा गुड्ने गाडीहरूले क्षमता भन्दा कयौं गुणा बढि सामान ओर्सादै आएका छन् । प्राविधिका अनुसार १ प्रतिसत ओभरलोड गाडी वढदा १ दशमलव ८० प्रतिसत सडकको आयु घट्छ । यस अनुसार जम्मा भित्रीने गाडी मध्ये ५५ प्रतिशतले मात्र ओभरलोड हुँदा सडकको आयु समाप्त हुन्छ । हाल यहि स्थिति वेलहिया वुटवल सडकमा रहेको ईन्जीनियर भण्डारीको भनाइ रहेको छ ।

मापदण्ड भन्दा कयांै गुणा बढि ओभर लोडका कारण सडक चाँडो विग्रिरहेको छ ईन्जीनियर बताउँछन् । उनी थप्छन्–‘तसर्थ समयमै सवै निकायको ध्यान पुगोस् नत्र राज्यको लगानी वालुवामा पानी हुन गइ गरिबलाई सवै कुरा महङ्गो पर्न जाने तथ्य स्थापित हुने छ ।’
बुटवल वेलहिया व्यापारिक मार्गमा भलवारीदेखि मणिग्रामसम्म टिसिआइएल कम्पनीले ११ जुलाई २०१८ मा सडक निर्माण कार्य सम्पन्न गर्ने गरी १२ जनवरी २०१६ मा सम्झौता गरेको छ । मणिग्रामदेखि जानकी नगरसम्म शर्मा लामा कान्छाराम जेभी कम्पनीले १ नभेम्बर २०१६ मा सम्पन्न गर्ने गरी २५ जनवरी २०१४ मा सम्झौता गरेको थियो । यस कम्पनीको समयसीमा समाप्त हुने अवस्था आएपनि थप समय म्याद थपेर निर्माण कार्य छिट्टै नै सम्पन्न गर्ने बेलहिया बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जनियर लिलाबहादुर भण्डारीले बताए ।
उनका अनुसार यस कम्पनीको ६० प्रतिशत काम सम्पन्न भइसकेको र अन्य काम पनि जारी रहेको छ ।
जानकी नगरदेखि बुटवल राजमार्गसम्म लुम्बिनी कन्सट्रक्सन आशिष जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरे अनुसार यस कम्पनीले सडक निर्माण सम्पन्न गरिसकेको छ । यस्तै बेलहिया बाइपासदेखि डण्डापुलसम्म लामा रायमाझी कान्छाराम जेभीले पाएको सडक निर्माण ठेक्का अनुसार यस कम्पनीले निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
मेडिकल जाने बाटोदेखि बर्मेली टोलसम्म शर्मा दिवा द कन्सट्रक्सनले पाएको ठेक्का अनुसार यस कम्पनीले सडक निर्माणकार्य सम्पन्न गरेपनि भारतबाट आउने क्षमता भन्दा बढीका मालवाहक सवारीका (ओभरलोड) कारण सडक भत्किदै गएको छ ।
अंचलपुरको गोदार इन्जीनियरिङदेखि करिब कटैयासम्म विरुवा श्रेष्ठ एपेक्स जेभी नामक कम्पनीले सडक निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । ११ जुलाई २०१८ मा सम्पन्न गर्ने गरी यस कम्पनीले १२ जनवरी २०१६ मा सम्झौता गरेको हो ।
त्यस्तै कटैया देखि मधवलिया सम्म टेली कम्नीकेसन इन्डिया लिमिटेडले (टिसिआइएल) २ अगस्त २०१८ मा सम्पन्न गर्ने गरी २ फेब्रेरी २०१६ मा आयोजनासँग सम्झौता गरेको छ ।
मधवलीया देखि भलवारी इन्जनियरिङ्ग कलेजसम्मको सडक निर्माण कार्य कालिका रायमाझी जेभी कम्पनीले २९ जुलाई २०१८ मा सम्पन्न गर्ने गरी ३१ जुन २०१६ मा सम्झौता गरेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै