‘बुटवल प्लाष्टिक निषेध क्षेत्र’ १७ बर्ष देखिको अभियान व्यर्थ

कृष्ण खनाल 
बुटवल, ३० असोज । 
आजभन्दा१७ बर्ष पहिला उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले ‘बुटवल उप–महानगरपालिकालाई प्लाष्टिक मुक्तनगर बनाउने’ अभियानको थालनी गरेको थियो ।  मञ्चका अध्यक्ष नर्वु लामाको नेतृत्वमा रुपन्देही जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी, तत्कालिन नगरपालिका मेयर भोजप्रसाद श्रेष्ठको सहयोगमा बुटवल नगरपालिकालाई  पुर्ण प्लाष्टिक मुक्त बनाउने अभियानमा थालन भएको पाईन्छ ।  
उक्त अभियान अन्र्तगत प्लाष्टिक मुक्त नगर बनाउनको लागि बुटवलका विभिन्न स्थानहरुमा त्यतिबेला सयौं संख्यामा कागजका झोलाहरु समेत वितरण गरिएको थियो । नगरमा प्लाष्टिकको प्रयोग जथाभावीगर्दा नगरपालिका नै प्रदुषित हुन थालेपछि वि.स. २०५६ सालमा नै ‘सुईरो अभियान’ समेत नगरपालिकाले सञ्चालमा ल्याएको थियो । तर उक्त सुईरो अभियान ३ बर्ष पछि बन्द भयो, २०५९ सालमा सुईरो अभियान बन्द भएपछि अहिले सम्मपनि बुटवललाई  प्लाष्टिक मुक्त  शहर बनाउने  योजना अगाडी बढेको छैन । 
प्लाष्टिक प्रयोग गरेपछि त्यसलाई पुनः प्रयोगमा ल्याउन सकियोस भन्ने हेतुले सञ्चालनमा ल्याइएको सुईरो अभियान बारे नत कसैलाई थाहा छ, नत अहिले प्रयोगमा आएको छ । प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान बनाउनकोको लागि थालिएको अभियानले १७ बर्ष पुगीसक्दा पनि बुटवल उपमहानगरपालिका पुर्ण प्लाष्टिक मुक्त  शहर बन्न सकेको छैन । 
प्लाष्टिक मुक्त नगरबनाउनको लागि नगरपालिकाले उदासिनता देखाईरहेको समयमा खुद्रा किराना व्यसायी संघले ‘प्लाष्टिक निशेधित क्षेत्र ’ बनाउनको लागि पहल गर्ने भएको गरेको भएपनि यसले पनि सार्थकता पाउन सकेको छैन । 

सुईरो अभियान अन्र्तगत कुनै पनि ल्पाटिक जन्य बस्तुलाई प्रत्येक पसल, होटल तथा विभिन्न व्यवसायीक स्थानमा सुईरो राखिने र त्यही सुईरोमा प्लाष्टिक जन्य बस्तु जम्मा गर्ने र निश्चित स्थानमा लगेर जलाउने गरीएको थियो । यस्तै पुनःप्रयोगमा आउन सक्ने प्लाष्टिक जन्य बस्तुलाई त्यहि सुईरोबाट पुनः प्रयोगमा ल्याउन सकिने गरि अभियान सुभारम्भ गरिएको  हो । 
अभियानमा सहभागी  तत्कालिन बुटवल नगरका मेयर भोज प्रसाद श्रेष्ठ भन्छन्–‘केही बर्ष त्यो अभियानले राम्रै साथ पाएको थियो, तर पछि हरायो ।’  उनका अनुसार त्यतिबेला उपभोक्ताहरुले कुनैपनि प्लाष्टिकको प्रयोग गरे भने त्यसलाई सुइरोमा जम्मा गर्ने र निश्चित स्थानमा लगेर नगरपालिकाले जलाउने या प्रयोग गर्न मिल्नेलाई पुनः प्रयोग गर्दथे ।  

उक्त अभियान यतिकै हराएर गयो । पछि रुपन्देही खुद्रा किराना व्यवसायी संघले प्लाष्टिक मुक्त शहर बनाउने अभियान थालनी गरेको थियो । संघका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार नगर सफा सुग्गर राख्ने खुद्रा व्यसायीको  दायित्व भएकाले प्लाष्टिक मुक्त सहर बनाउने अभियान सुभारम्भ गरेको थियो । अभियान थालनी गरिएको भएपनि व्यवहारमा पुर्णरुपमा कार्यान्वयनमा नआईकन उक्त अभियान पनि हराएर गायो । अहिले कुनै पनि संघ–संस्था तथा व्यवसायीक प्रतिष्ठानहरुले  यो अभियानमा चासो देखाएका छैनन् । 
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष न्यौपाने भन्छन् –‘नगर सफा भएमा हामी स्वथ्य हुन्छौ त्यस कारण पनि यसलाई पुर्ण रुपमा कार्यान्वयन  गर्नको लागि  हाम्रो पहलथालनी भएको थियो, तर कार्यान्वयन आउन सकेन । 
संघका उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेलका अनुसार बुटवलमा एक जना खुद्रा किराना व्यवसायीले दैनिक करिव २ सय रुपैयाँको प्लाष्टिक मात्र यतिकै ग्राहकहरुलाई दिदै आएका छन् । उनी भन्छन्–‘बेकारमा २ सय रुपैयाँ भन्दा बढिको प्लाष्टिक जाने गरेको छ, त्यसलाई रोक्न सकेमा पनि व्यसायी तथा उपभोक्ता सबैलाई राम्रो हुन्छ ।’ उनले खुद्रा किराना व्यवसायीसंगको  सहकार्यमा स्थानिय निकायले चासो नदिदाँ प्लाष्टिक मुक्त नगर बनाउन नसकिएको बताउछन् । ‘हामीले अभियानको रुपमा  सुरुगर्ने योजना बनाएका थियौं, तर नगरपालिका र प्रशासनबाट सहयोग भएन, हामी यो अभियानमा साथ दिन तयार छौं ।’
उपभोक्ता हकहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले नगरलाई आजभन्दा १७ बर्ष पहिला प्लाष्टिक निशेधित क्षेत्र  बनाउने अभियान  अहिले सम्म पनि सार्थकता नपाउनु आफैमा दुःखको विषय भएको बताउछन् ।  सबैको साझा पहल भएमा बुटवल  प्लाष्टिक मुक्त शहर बन्न धेरै समय नलाग्ने भन्दै उनले यसको लागि  साझा सहकार्य आवश्यक रहेको बताए । उनले भने–‘५६ सालमा हामीले नगर स्वच्छ र सफा बनाउने अभियान सुरु  गरेका थियौं तर अहिले सम्म पनि  उक्त कार्यले पुर्णता पाउन सकेको छैन, जुन दुःखको कुरा हो ।’ उनले जथाभावी  रुपमा प्रयोग गरीने प्लाष्टिको कारण स्वाथ्यमा असर पर्नुको साथै नाम्ले जुका र फिते जुका जस्ता परजिवीहरुले समेत आक्रमण  गर्न सक्नेतर्फ सचेतन हुनको लागि सुझाए । 

बुटवल नगरपालिकाको तथ्यांक अनुसार बुटवलमा उत्पादन हुने दैनिक ३० टन फोहोरमध्ये ७ प्रतिशत अर्थात २ हजार १ सय किलोग्राम  प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको  तथ्यांकमा पाईन्छ । नेपाल सरकारले ब्यवस्थापनमा समस्या हुने भन्दै २० माइक्रोनभन्दा कम तौलका प्लोथिन उत्पादनमा रोक लगाएपनि यस क्षेत्रमा भने त्यस्ता पोलिथन प्रसस्तै उपभोग भइरहेको छ । बुटवलमा २०५६ सालमा शुरु गरिएको सुईरो अभियान मुस्किलले २०५९ सालसम्म चलेको थियो । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै