के छ ज्यामिरेमा ?

कृष्ण खनाल 

ज्यामिरे गाउको एक दृष्यि..
एक दिन साँझ पत्रकार मित्र विरेन्द्र कुँबरले फोन गर्नुभयो । ‘कृष्ण जी के छ भोलिको दिन फुर्सद् हो ?’ मैले भने–‘ अँ फुर्सदमै छु, भन्नुस् न केही काम छकी ?’ मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो –‘तपाई हामी मिलेर ज्यामिरे जाने प्लान बनाएका छौं के छ जान भ्याउनु हुन्छ नि?’ मैले भने–‘किन नभ्याउनु भ्याउँछु नी पाल्पाको ज्यामिरे हो ?’ मैले प्रतिप्रश्न गरे  ।
ज्यामिरे जादै गर्दा बाटोमा थकाईलागेपछि 
 जवाफमा वीरेन्द्र जी ले भन्नुभयो–‘ होईन कहाँको पाल्पा नी ? रुपन्देहीको हो, जाँदा तामनगर सम्म बाईकमा जाउँला अनि २ घण्टा उकालो हिँड्न पर्छ ।’  उहाँले यति भनेपछि तपाई हिँड्न त सक्नु हुन्छ नी ? मैले भने पहाडमा १५ बर्षसम्म हिँडेको मान्छु हुँ क्या किन हिँड्न नसक्नु नी ?  अनि हाम्रो योजना  ज्यामिरे जाने  भयो । पत्रकार लक्ष्मण  पोखरेल, कपिल ज्ञवाली, टोपराज शर्मा, विनोद परियार, विरेन्द्र कुँवर र यो पंक्तिकार ज्यामिरे जाने भयौं । 

ज्यामिरेमा फलेका मकै 
ज्यामिरे पुगेको पत्रकारको  टिम 
 बुटवलबाट  बिहान करिब ८ बजे हामी ज्यामिरेको लागि हिँडेका थियौं । तामनगरमा गएपछि स्थानीय लिलबहादुर घर्तीको घरमा गएर  मोटरसाईकल राख्यौं र पानीको बोतल बोकेर हामी जंगलको बाटो हुँदै ज्यामिरे तर्फ प्रस्तान ग¥यौँ । बिहान खाजा खाएर हामी हिँडेका थिर्याैं ।  झाडी र जंगल बीचको बाटो भएको कारण जेनतेन हामी हिँडरहेका थियौं । घना जंगल र उकालो बाटो भएका हामी सबैजना पसिनाले  निथु्रक्क भिजेका थियौं । 

 बाटोमा हिँड्दा कोही साथीहरुले यो पंक्तिकारलाई भन्ने गर्दथे ‘कृष्ण तिमिलाई हिँड्न त गाह्रो भएको छैन ?’ मैले भने– छैन ‘यस्तो बाटो त गाउँमा हुँदा म कति हिँडेको छु ।’  यस्तै यस्तै कुरा गर्दै हामी ७ जना जंगलको बाटो हुँदै ज्यामिरे जानका लागि हिँडेका थियौं । मध्यान्न १२ बजे हामी ज्यामिरेको बस्तीमा पुग्यौं । शान्त, स्वच्छ र मनमोहक स्थान ज्यामिरे बास्तवमै  प्रकृतिको खानी रहेछ ।

 पहाडबाट आएको चिसो पानी ज्यामिरेको बस्तीमा कलकल बगिरहेको थियो । एकैछिन चिसो पानी खाईवरी सुस्ताएपछि हामी भोक लागेको कारण काँचो मेवा नुनसँग खायौं । पछि खाना खाएपछि विभिन्न मिडियाका साथीहरु कसरी ज्यामिरेको मुद्दा उठाउने भन्ने विषयमा आ–आफ्नै ढंगले विभिन्न समाचारको विषय (एंगल) पत्ता लगाउन थाल्यौं । म पनि सोही अनुरुप नै रिपोर्टिङ्गमा लागँे ।
ज्यामिरेमा फुलेको फुल
 ज्यामिरको बारेमा रिपोर्टिङ्ग गरि दिउँसो करिब ३ बजे हामी त्यहाँबाट फर्कियौं । ज्यामिरेको बारेमा हामी फरक फरक मिडियाका साथीहरु गएका थियौं जुन म भन्दा सिनियर व्यक्तित्वहरु हुनुहुन्थ्यो । मैले पनि आफूले पहिल्याएको ज्यामिरेको विषयमा २ वटा समाचार प्रकाशित पनि गरेँ । ज्यहाँ जाँदा मैले तयार गरेको  एउटा विवरण यस्तो छ ः

बुटवलको तामनगरदेखि उत्तरतर्फ करिब ७ किलोमिटर जंगलको उकालो कच्ची बाटो हिँडेपछि मात्रै  एउटा गाउँ आउँदछ । जुन गाउँको नाम हो ज्यामिरे । झट्ट उक्त बस्तीको नाम सुन्ने  जो कोहीले पनि  अनुमान लगाउँदछ ज्यामिरे पाल्पा हो भनेर ।  तर उक्त गाउँ बुटवल नगरपालिको वडा नम्बर १४ अन्तर्गत पर्दछ ।  वि.सं. २०४० सालतिरबाट बुटवल नगरपालिका भित्रै पर्ने ज्यामिरे बस्तीलाई  कुनैले त ‘बुटवलको कर्णाली’ को उपमा समेत दिने गरेका छन् । अहिले सम्म सडक यातायातले नजोडिएको ज्यामिरे बस्तीमा संभावना धेरै छन् । त्यहाँको स्रोत साधनको उच्चमत प्रयोग गर्ने हो भने ज्यामिरे बस्ती साँच्चै नै  बुटवल नगरभित्रको एउटा ‘उदाहरणीय बस्ती’ बन्नेमा कसैको दुईमत छैन ।  
थकाई लाग्यो के 
स्वाथ्य उपचार, शिक्षाको लागि तामनगर सम्म आउनै पर्ने ज्यामिरेका बासिन्दाहरुमा छ भने कुनै पनि प्रशासनिक कामको लागि पनि उनीहरु बुटवल नगरपालिका सम्म धाउनु पर्ने बाध्यता छ । सानो कच्चीबाटो घना जंगल, खोला र खोल्साहरु काट्दै तलमाथि गर्ने ज्यामिरेबासीहरु नगरबासी भएकोमा कुनै गर्व छैन । अपत्यारिलो स्थानमा समाज बनाएर बसेका ज्यामिरेबासीहरु पीडा र अभावमा बाँचिरहेका छन् । चारैतिर जंगलले घेरिएको सो बस्तीमा जंगली जनावर र चराचुरुड्डीको बाहेक अरु केही कतैबाट आवाज समेत आउँदैन । 
बुटवल टुडेमा २०७० बैशाख ६ गते प्रकाशित लेख 
वि.सं.२०४० सालतिर नन्दविर बहादुर गाहा पहिलो पटक ज्यामिरे आएका थिए । अहिले उक्त गाउँमा  ८ वटा घरधुरी छन् । जनसंख्या जम्मा ४९ जना छन् । ज्यामिरे टोल विकास समितिका अध्यÔ रहेका ४९ वर्षीय  नन्दबिर गाहाले ज्यामिरेमा संभावना धेरै भएको भएपनि सरकारी पछौटेपनको कारण आफूहरु मर्कामा परेको जानकारी दिए । नगरपालिका भित्र रहेका बस्तीलाई नगरपालिकाले विकास निर्माणमा कुनै पनि सहयोग नगरेको उनीहरुको गुनासो रहेको छ । ‘नगरपालिका भित्र भएको भए त हामीलाई नगरपालिकाले हेर्नथियो होला तर नगरभित्र छौं जस्तो नै लाग्दैन,’ स्थानीय नन्दविर गाहाले भने । 
उक्त गाउँमा करिब साढे ४ बिगाहा पक्की (लालपूर्जा) र अरु कच्चीजग्गामा उनीहरु खेति किसानी गर्छन् । बाख्रा कुखुरा बेचेर नुन तेलको जोहो गर्छन । बुटवलबाट चामल नओसारे सम्म ज्यामिरेका स्थानीयहरुले भात खान पाउँदैन्न । मलिलो माटो, पानी र शितल हावा रहेको ज्यामिरे बस्तीमा तरकारी र पशुपालनको संभावना अथाह रहेको छ ।

अँध्यारो छैन ज्यामिरेः नगरपालिकाको सहयोगमा केही बर्ष अगाडि ७ वटा सोलार ज्यामिरेबस्तीका मानिसहरुले पाएका थिए । त्यसको उज्यालोमा उनीहरुले रात कटाउने गर्दछन  । ६ हजार स्थानीयले उठाएर दिएका हुन भने अन्य बुटवल नगरपालिकाले अनुदान दिएको थियो । जसको कारण उनीहरुले  बुटवल नगरपालिकामा जस्तो लोडसेडिङ्गको मारमा परेका छैन्न ।  नगरपालिकाले बनाएको कमेरे खोलामा सामान्य फलामको पुल,३ सय ५० मिटर खानेपानीको सानो पाइप, धान कुट्ने मेसिन नगरपालिकाल अनुदान दिएको हो । त्यसबाहेक अहिलेसम्म कुनै पनि सहयोग नभएको ज्यामिरेबासीहरु बताउँछन्  । 
बस्तीमा बहादुर गाहा, जोगबहादुर घर्ती, मानबहादुर घर्ती, होमबहादुर गाहा, समर गाहा, देबबहादुर घर्ती, लिलबहादुर खत्री, नन्दबिर गाहा घरमुलीका  रुपमा रहेका छन् ।  वडा कार्यालय र नगरपालिकामा पटक÷पटक पुगेर विकासको माग ज्यामिरेबासीले गरिरहेका छन् । वडा नागरिक मञ्चको सदस्य समेत रहेका नन्दबीर गाहाले आफू धाउनुको कुनै अर्थ नभएको बताउँछन् । ६० रुपैयाँ खर्च गरेर वडा र नगरपालिकामा पटक÷पटक  गएपपिन कुरा नसुनेको उनले   बताएका थिए । 

बुनपा–१४ का निवर्तमान जनप्रतिनिधि तिलबहादुर रोकाका अनुसार २०५७ साल यता त्यहाँ जनप्रतिनिधिहरु पुगेका छैनन्  । वि.सं. २०५४ सालसम्म बुटवल नगरपालिकालाई समेत यो बस्तीको बारेमा थाहा थिएन । त्यतिखेर निर्वाचन हुने बेलामा यो बस्ती बुटवल नगरपालिका वडा न. १४ मा पर्ने कुरा थाहा भएको थियो । तत्कालिन मेयर भोजप्रसाद श्रेष्ठको  पालामा खानेपानीको पाईप बिस्तार गरिएको थियो ।  बस्तीको पूर्वतर्फबाट बग्ने कमिरे खोलाको मुहानबाट पाईपमै घरमा पानी आएपछि त्यहाँ खुशियाली छाएको थियो । 
रिसोर्ट खोल्न सकिन्छः उक्त स्थानमा एउटा प्राकृतिक रिसोर्ट सञ्चालन गर्न सकेमा बास्तवमै त्यस क्षेत्रका मानिसहरुमा परिर्वतन आउनेछन । त्यहाँ अहिले लोकल कुखुराको स्वादसँगै प्राकृतिक वातावरणमा रमाउँदै खाना खानको लागि अहिले पनि कुनै छेकवार छैन । त्यहाँका स्थानीय बासिन्दाहरु सबैले लोकल कुखुरा (भाले) को बथान नै पालेका छन । भने खसीको मासु खानेहरुको लागि पनि एक घरमा ४० देखि ४५ वटा बाख्रा पालेका छन् ।  साताभरी कार्यव्यस्तताको कारण एक दिन बिदा मनाउने र स्वास्थ्यलाई समेत फाईदा पुग्ने गरी पैदलै हिँडेर उक्त स्थानमा पुग्ने हो भने त्यहाँका स्थानीय मानिसहरुको आर्थिक स्थिति परिर्वतन ल्याउनको लागि तपाईले समेत सहयोग गर्न सक्नुहुनेछ । 

के गर्न पर्छ स्थानीय निकायले ? स्थानीय निकायले ज्यामिरेको विकासको  लागि मात्र एक चिम्टी मात्र विकास गरेको छ । उक्त स्थानको विकासको लागि बुटवल नगरपालिकाले आफ्नो विकासको आँखा सहरमा मात्र होईन गाउँ गाउँमा पनि पु¥याउन जरुरी रहेको छ । बुटवल नगरपालिका आफँैमा देशभरिकै उत्कृष्ट नगरपालिका बनेको प्रमाणपत्र सजाएर मात्र विकासको फुई लगाउनुको कुनै अर्थ छैन ।   यसको लागि ज्यामिरे जस्ता संभावना बोकेका क्षेत्रको विकासको लागि समेत योगदान दिनु आवश्यक छ । नगरपालिकामा पटक–पटक विभिन्न कामले आउने गरेका  ज्यामिरेका स्थानीयहरुले ‘कि निकास चाहियो कि विकास चाहियो’ भन्ने गरेका छन् । तर, नगरपालिका अहिले पनि कुरा सुनेको नसुनै गरेको छ । अबिलम्ब यसको विकासको लागि सोच्नु जरुरी रहको छ  । (लेखकः अपाङ्ग पत्रकार संघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक हुन्)  krishnanews1@gmail.com

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती