कालो बजारी गर्ने प्रहरी फन्दामा

कृष्ण खनाल 
भैरहवा, १६ माघ । 

रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल ईण्डष्ट्रिजका सञ्चालक सौरभ अग्रवाललाई अन्ततः प्रहरीले पक्राउ गरि कार्यवाही अगाडी बढाएको छ । कालो बजारी गर्नेलाई प्रहरीद्धारा उन्मुक्तिको प्रयास लगायतको समाचार यस अघि बुटवल टुडे दैनिकमा प्रकाशन भए पछि प्रहरीले दबावमा आएर उनलाई पक्राउ गरेको हो । 
पक्राउ गरे पनि पक्राउ गरेको सूचना प्रहरीले गोप्य राखेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक बिक्रम सिंह थापाले अग्रवाल सोमबार नै पक्राउ गरेको जानकारी बुधबार दिए । उता पक्राउ परेको बारेमा जानकारी लिनको लागि गएको सञ्चार कर्मीको टोलीलाई  रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी दिपक न्यौपाने “ यस बारे म केही बोल्दिन तपाईहरुलाई मेरो बारेमा जे लेख्नु छ लेख्नुस ” भन्दै पत्रकार माथी नै खनिएका थिए । 
कार्यालय प्रमुख बिक्रम सिंह थापाले सञ्चालक अग्रवाललाई पक्राउ गरि कडा भन्दा कडा कार्यवाहीको माग सहित सरकारी वकिल समक्ष पेश गरेको बताएका छन । प्रहरीले बनाएको चार्जसिटमा अग्रवाल आफैले कालोबजारी गरेको स्विकारेको उल्लेख छ । भारतबाट तोरीका गेडा आयतित गरि उक्त मिलबाट उत्पादीत अंकुर ब्राण्डको शुद्ध तोरीका तेल तौल ५०० ग्राम (प्याकिङ्ग गर्दा) को म्याद सकिने अवधि ४ महिना रहेको अग्रवालले आफ्नो बयानमा उल्लेख गरेका छन । यता उनले उत्पादन गर्ने अंकुर ब्राण्डको शुद्ध तोरीका तेल तौल ५०० ग्राम (प्याकिङ्ग गर्दा) को म्याद सकिने अवधि ६ महिना रहेको उक्त तेलको पोका माथी प्रिन्ट गरिएको छ । यसैबाट पनि पुष्टि हुन्छ कि ४ महिनामै खराब हुने तेल बजारमा ६ महिना सम्म चलाएर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिएको छ । थापाले चार्जसिटमा उल्लेख गरेको वाक्य देखाउदै भने । 
यति मात्र हैन खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागको पत्रबाट पनि रिफ्रयाक्टीभ इन्डेक्स १.४६५ देखि १.४६९ हुनुपर्नेमा १.४६३५ रहेको, परोक्साइड भ्यालु १० हुनुपर्नेमा १.७९ भएको र एसीड भ्यालु ०.५० हुनुपर्नेमा १.२५ रहेकोले खान अयोग्य र अखाद्य वस्तु मिसावट रहेको भन्ने बलियो प्रमाण रहेको थापाले बताए । “यसरी नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी अखाद्यय पदार्थ मिसाई नागरिकको स्वास्थ्य माथी खेलवाड गर्नु अक्षम्य अपराध हो ।” थापाले भने ।  यी प्रमाणहरुको आधारमा अग्रवाललाई कडा भन्दा कडा सजायको सिफरिस गरिएको थापाले बताएका छन । “अग्रवाललाई कालोबजारी तथा अन्य सार्वजनिक अपराध ऐन अन्र्तगत २०३२ को दफा ६ बमोजिम २ बर्ष कैद र जरिवाना सहितको सजाय मागदावी सहित कार्यवाहीका लागी पठाएका छौ ।” थापाले भने । मिसावट रहेको मौज्दातहरु समेत जफत गरी नष्ट हुनु पर्ने माग सहितको पत्र सम्बन्धित निकायमा पठाएको  एसपी थापाले जनाएका छन्  । 
यसरी उपभोक्तालाई नभई नहुने तेलमा सरकारले तोकेको मापदण्ड भन्दा बढी आखद्यय बस्तु मिसाएर आम नागरिकको स्वास्थ संग खेलवाड गरि आफ्नो ढुकुटी भरि रहेका यस्ता उद्योगीहरुलाई ठुलै कसरत पछि प्रहरीले त पक्राउ गरि सम्बन्धित निकायमा बुझायो । तर आम नागरिकलाई न्याय दिने जिल्ला प्रशासन कार्यालय र न्यायिक निकायले यस्ता कालोबजारी गर्नेलाई  कार्यवाही गर्ने हुन कि आर्थिक प्रलोभनमा परि फेरी नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने खुल्ला छुट दिने हुन त्यो सर्वसाधारणको चासोको बिषय  बनेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै