खुला दिशा मुक्त घोषणा गर्न ‘मिनी मेला’

कृष्ण खनाल
 बुटवल,१० भदौ । 
कसले जेरी पकाईरहेका छन्, कसैले समसा मटर, चाउमिन र पानी पुरी कसैले विस्कुट, चाउचाउ तथा मिठाई । झट्ट हेर्दा लाग्छ कतै मेला र महोत्सव हो की । विच विचमा बज्ने भोजपुरी गीत संगीतको तालले जो कोहीलाई पनि मेला महोत्सवको झल्को दिन्छ । 
टाढा टाढा सम्म राखिएको स्वागत गेट र साउन्ड सिस्टमले मंगलबार रुपन्देही मैनिहवा गाविसको  माहोले तातेको थियो । उक्त कार्यक्रम कुनै मेला महोत्सव नभई गाविसलाई खुला दिशा मुक्त घोषणा गर्ने कार्यक्रम थियो । 
गाविस स्तरीय सरसफाई समन्वय समितिले मंगलबार मैनिहवा गाविसमा कार्यक्रम गरी खुला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । यो संगै रुपन्देहीका १८ वटा गाबिस खुला दिसामुक्त भएका छन् । 
कार्यक्रममा सहभागी मैनहिया गाविस–४ का पशुपति थारुले आफुहरुलाई यो खुला  दिशा मुक्त घोषणा कार्यक्रम आफुहरुको लागि मेला महोत्सव जस्तै भएको बताए । उनले भने–‘अहिले रोपाई सकेको अवस्था रहेको छ, अनि फुर्सदमा यो कार्यक्रम आयोजना गरियो जुन उपयुक्त  छ ।’ उनले परिवारका सबै कार्यक्रममा सभागी भएको उनको तर्क थियो । कार्यक्रममा  धेरै जसो  परिवारका सबै  सदस्यहरु नै सहभागी भएका थिए । 
करिव ३  देखि ४ हजार मानिसको सहभागीता भएको आंकलन गरिएको कार्यक्रममा मैनिहवा गाविसको सचिवको कार्यालय नजिकै  आयोजना गरिएको  थियो । ठाँउ ठाउमा स्वागत गेट लगाइएको थियो भने टाढा टाढा सम्म पनि साउन्ड सिस्टम लगाइएको थियो । जसको कारण गाउको रौनक अर्कै थियो । 
घोषणा सभालाई उद्घाटन गर्दै सभासद दीपक बोहोराले रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको अशिक्षा र अज्ञानतलाई हटाउदै लैजानका लागि सबै एक जुट हुनुपर्ने  बताए । 
 स्थानीय स्तरबाट मेलमिलापको बाटो अगालियो भने आफ्नो गाउको बिकास गर्न सकिने उहाले बताए ।  मैनिहवा गाबिसको बिकासमा सक्दो प्रयास गर्ने उहाको भनाई छ । 
गाविस सचिव ओमबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख शंकरमणि ज्ञवाली, सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष मिना थापा, वल्र्ड भिजनका प्रेम प्रसाद भुषाल, आम्दा नेपालका सुमित कुमार गौतम, समाजसेवी अयोध्या प्रसाद थारु, भिवाससिसिका सहसंयोजक रंगनाथ गुप्ता लगायतले मन्तव्य राखेका  थिए भने कार्यक्रम सिद्धार्थ सामुदायिक समाजका वास परियोजना संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको थियो  । 
जमानः मैनिहवा गाविसको खुला दिशा मुक्त कार्यक्रममा सहभागी स्थानियहरु । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।