मेलाको कारोबाले हौसला थपेको छ

बुटवल उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको कृषि उद्यम केन्द्रको आयोजनामा अहिले कृषि मेला–२०७२ बुटवलमा जारी छ । मेलाको चौथो दिन बुटवलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । दर्शकको बाक्लो उपस्थिीति सँगै मेला आयोजक र स्टल सहभागीहरू समेत हौसिएका छन् । यसै विषयमा मेलाका स्टल सहभागीहरूलाई बुटवल टुडेकर्मी कृष्ण खनालले मेलाका विविध विषयमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश 

दैनिक १० हजारको कारोबार
रविन्द्र अग्रहरी
प्रमुख, अग्रहरी च्याउ फर्म, पश्चिम अमुवा । 
मैले दुई बर्षदेखि च्याउ उत्पादन गरी बिक्री गर्दै आएको छु । म च्याउ उत्पादनसँगै स्वयंसेवीरूपमा अपाङ्ग पुनःस्थापना केन्द्रमा काम गर्दै आएको छु । मेलामा अहिले कारोवार राम्रो छ । दैनिक करिब १० हजारजतिको कारोवार हुने गरेको छ । दुई वटा कोठामा ४ सय वटा डल्ला च्याउ मैले राखेको छु । मेरो आम्दानीको स्रोत पनि यहि हो । परिवारका अन्य सदस्यहरूलाई च्याउ खेतीबाट नै पाल्ने गरेको छु । आगामी दिनमा अझ व्यवस्थित रूपमा च्याउ फर्म स्थापना गरी विक्री वितरण गर्ने योजना बनाएको छु । 


व्यापार राम्रो छ 
मधु गलामी
सदस्य, भार्सेली कृषक समुह भार्से–५ गुल्मी 
हामीहरू कृषकहरू मिलेर आजभन्दा करिब १ बर्ष पहिला समूहमा आवद्व भएर कृषि सम्बन्धी काम गर्दै आएका छौं । अहिले हाम्रो समूहमा २० जना कृषक आवद्व रहेका छन् । अहिले मेलामा सिलाम, सिन्की, आटो, पिठो, भुईस्याउ, लगायतका विभिन्न खाद्यान्नहरू बिक्री गर्दै आएका छौं । अघिल्लो मेलामा हाम्रो समूहले किवि फल ल्याएर बिक्री वितरण गरेका थियौ । यस पटकको कृषि मेलामा व्यापार राम्रो छ । अहिले भुइँस्याउ हामीले विक्रिका लागि ल्याएका छौ । यो पुर्णरूपमा गाउँको उत्पादन हो । पहिलो पटक हामीले भुईस्याउको उत्पादन सुरु गरेका हौं । पहिलो पटक मेलामा विक्रीका लागि ल्याएका छौं । अहिले करिव १२ क्विन्टल हामीले बिक्री गर्ने लक्ष्य लिएका छौ । हामी समुहमा आवद्व भएका किसानहरूले घर–घरमा उत्पादन गरेको खाद्यान्न, विउ तथा तरकारी समुहमा आवद्व भएर वजारीकरण गर्दै आएका छौं । 

हस्तकलाको व्यापार राम्रो
केयरसिंह सिंजाली
प्रमुख, मिलन हेन्डीक्राप्ट तिलोत्तमा–२१
आजभन्दा करिब ३ बर्ष पहिला मैले हस्तकलाका विभिन्न सामानहरू उत्पादन गरि बिक्री गर्दै आएको छु । अहिले मैले हस्तकलाका विभिन्न बस्तुहरू, चाक्ला, बेलना, काठका कप, नेपाली करुवा, खुर्पेटो, हँसिया, नेपालको झण्डा लगायतका सामग्रीहरू विक्रि वितरण गर्दै आएको छु । 
यो कृषि मेलामा पहिलो पटक ल्याएको हो । अहिले प्रचार प्रसारको काम मात्र गरेको छु । अवको आगामी योजना मेरो बढि मात्रामा हस्तकलाका सामानहरू निर्माण गरी विदेश निर्यात गर्ने योजना रहेको छ । अहिले मेरो उद्योगमा ११ जनाले रोजगारी पाएका छन् । हामी परिवारका सबै सदस्यहरू र केही बाहिरका व्यक्तिहरूलाई समेत रोजगार दिएका छौं । 

आयुर्वेदिक औषधिमा आकर्षण बढ्दो छ 
कृष्ण अर्याल
प्रमुख,अनमोल ट्रेड कन्र्सन बुटवल–११ तिनकुने
हामीहरूको दम, ग्याष्ट्रिक, बाथ, सुगर, खोकी लगायतका आयुर्वेदिक बस्तु बिक्री गरेका छौं । मेलामा व्यापार उत्साहजनक भन्दा पनि सन्तोषजनक छ । कृषि मेलामा म तेस्रो पटक सहभागी भएको छु । अन्य मेला भन्दा यो मेला विशिष्टिकृत मेला भएको कारण फाईदाजनक रहेको छ । दैनिक करिव ४ हजार बराबरको कारोबार गरेका छौं । हामी पूर्णरूपमा आयुर्वेदिक औषधीको बिक्री वितरण गर्दैै आएका छौं । पछिल्लो समयमा अन्य औषधी भन्दा पनि आयर्वेदिक औषधिको माग बढ्दो छ । 

बीउविजनको सहयोगले फाइदा 
गंगाराम खत्री
जिल्ला शाखा अध्यक्ष, सहकारी ÷सुनगाभा कृषक समूह रोल्पा
एउटा समूहमा हामी २५ जना छौं । रोल्पा जिनावाङ्गमा रहेका छौं । सहकारीमा १ सय ७२ जना रहेका छौं । हामीले २०५० साल देखि सुरु गरेका हौं । हामी कृषकले गरेको फर्महरूलाई ठेक्कामा लिएर काम गरेका छौं । बार्षिकरुपमा हामीले १ करोड बराबरको विउ उत्पादन गरेका छौ । हामीले विभिन्न सिड कम्पनीहरूलाई विउ विक्रि गरेका छौं । हामीलाई किसानको लागि उन्नत विउ विजन कार्यालयले सहयोग गरेको छ । विउ उत्पादनको लागि विभिन्न सामग्रीहरू सहयोग गरेको छ । समुह र सहकारी मार्फत आर्थिक रूपमा जिल्लालाई आत्मनिर्भर बनाउने तयारीमा छौं । गत बर्ष पनि हामी आएका थियौं । कारोवार सन्तोषजनक रहेको छ । विउ विजन सबै, आलु पनि विक्रि गरेका छौं । दैनिक पहिलो दिनमा ८ हजार र अहिले १५ देखि २० हजार रूपैयाँ दैनिक करोवार हुने गरेको छ । 

अर्गानिक बस्तुको माग छ 
भिम बहादुर जिसामगर
प्रमुख, जैविक नर्सरी, देवचुली नपा–५ नवलपरासी
ग्याष्ट्रिक, गानोगोला, ढाड, कम्मर दुख्ने, पेट दुख्ने, जोर्नि लगायतका आयुर्वेदिक औषधि बिक्री गरेको छु । करिब १ हेक्टर क्षेत्रफलमा आफ्नै बगैंचा भित्र हामीले उत्पादन गरेका छौं । आज भन्दा करिब १० बर्ष अगाडि मैले सुरु गरेको हो ।  मैले गाउँमा कसैलाई चाहिएमा आफै मिलाएर औषधिको रूपमा बिक्री वितरण गरेको छु । दिनमा करिब २५ सय बराबरको बिक्री हुने गरेको छ । मेलामा तेस्रो पटक सहभागी भएको छु । मैले कृषि मेला आयोजना भएको बेलामा बनाएर बिक्री गरेको छु । मैले उत्पादन गरेका वस्तु पूर्णरूपमा आयुर्वेदिक र अर्गानिक हुन्छन् ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ