शैक्षिक समाचार

सहयोगको पर्खाइमा दृष्टिविहीन विद्यालय

कृष्ण खनाल 
बुटवल,  साउन । कालोपाटीमा लेखेको अक्षर कक्षाभरीकाले सुन्ने गरी ठूलो स्वरमा पढ्नु पाल्पाको मदनपोखरा गाविस–६ मा रहेको दमकडा उच्च माविका शिक्षकको बाध्यता हो । जुन चिच्याएर पढाउने काम विद्यालय नियम जस्तै बनेको छ । जसलाई अलिखित तर आवश्यक नियमको रुपमा लिन्छन शिक्षह र विद्यार्थीहरु । यस्तो नियम विद्यार्थीहरुमा लोकप्रीय हुनको लागि वा विद्यार्थीहरुलाई बढि जान्ने बनाउनको लागि गरिएको भने होईन । कारण हो विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्याथीहरुको सिकाइका लागि । जहाँ उनिहरुसँगै अरु विद्यार्थीहरु पनि संगै अध्ययन गर्दछन् । पाल्पा सदरमुकामदेखि केही किलोमिटर टाढा रहेको उक्त विद्यालयमा यसरी अध्यापन हुदै आएको १८ बर्ष पुगिसकेको छ । कक्षामा कालोपाटीमा लेखिने अक्षर मात्रै होइन बनाइएको चित्रको पनि सबैले सुन्ने ठूलो स्वरमा बर्णन गरीन्छ ।
ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयले दृष्टिविहिन विद्यार्थीहरुको लागि विद्यालयमै आवास सहित अध्यापन गराउदै आएको छ । विद्यालयमा अहिले २६ जना विद्यार्थीहरु छन । नेपाल सरकारले त्यस्तो दृष्टिविहीनहरुको लागि भनेर छुट्टै बजेटको व्यवस्था नगरेको भएपनि विद्यालयले वि.स.२०५२ सालयता जेनतेत विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको दृष्टिविहिन कार्यक्रम संयोजक शिक्षक कृष्णप्रसाद पराजुलीले जानकारी दिए । आफैमा दृष्टिविहिन रहेका शिक्षक पराजुलीले सरकारी निकायबाट विद्यालयको लागि छुट्टै सहयोग नगरेको कारण स्थानिय जनता र दाताको भरबाट दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्ययनको व्यवस्था गर्नुपरेको बाध्यता सुनाए ।
विद्यालयमा दृष्टिविहिन कक्षा सञ्चालन गर्नको लागि विद्यालयले उदाहरणीय कार्य समेत गरेको छ । वि.स. २०६२ सालमा महायज्ञ लगाएर आएको आर्थिक सहयोगले विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्ययन र आवासको लागि व्यवस्था गर्दै आएको छ । शिक्षक पराजुलीका अनुसार महायज्ञबाट करिव २२ लाख रुपैया संकलन भएको थियो । त्यसबाट खर्च कटाएर १७ लाख रुपैया बचेको कोषबाट विद्यार्थीहरुको लागि चाहिने आवश्यक शैक्षिक सामाग्रीहरु र उनिहरुको हित हुने काममा खर्च गरिएको छ ।
अहिले विद्यालयमा ११ वटा आमा समुहहरुले नियमित रुपमा विद्यार्थीहरुको लागि सहयोग गर्दै आएका छन । उदाहरणीय कुरा के छ भने उक्त विद्यालयको वरीपरिको क्षेत्रमा कुनै पनि पूजापाठ, विवाह तथा अन्य कुनैपनि सामाजिक काम भएमा त्यहाँको स्थानिय समुदायले दृष्टिविहिन विद्यार्थीहरुको लागि खान खुवाउनुको साथै विभिन्न सहयोग समेत गर्दै आएका छन् । अहिलेसम्म उक्त विद्यालयबाट ३० जना विद्यार्थीहरुले माध्यमिक तह (एसएलसी) उत्र्तीण गरीसकेका छन भने यस बर्ष ४ जना विद्यार्थी सम्मिलित भएका छन ।  अहिलेसम्म परिक्षामा सहभागी भएका विद्यार्थीहरु सबै प्रथम श्रेणीमा उत्र्तीण भएको विद्यालयले जनाएको छ ।
वि.स.२०५४ सालमा नेदरल्याण्डको एक गैरसरकारी संस्थाले सहयोग गर्ने भनेर सम्झौता गरेको भएपनि उक्त संस्थाले पनि हात झिकेपछि वि.स.२०६५ सालबाट विद्यायलले नै विद्यार्थीहरुको अध्ययनको जिम्मेवारी लिदै आएको छ । विद्यालयमा पाल्पा जिल्लाको अतिरिक्त स्याङ्जा, अर्घाखाँची, नवलपरासी, गुल्मीबाट समेत विद्यार्थीहरुले आएर अध्ययन गरिरहेका छन् ।
विद्यालयमा अहिले अध्ययनरत विद्यार्थीहरुको लागि एक जना विद्यार्थी बरावर ३२ रुपैया दैनिक रुपमा स्टेशनरीको लागि मात्र खर्च हुने गरेको विद्यालयको भनाई छ । विद्यार्थीहरुको लागि लेख्नको लागि प्रयोग गरिने ब्रेल बोर्ड (खोपेर लेख्ने अनि छामेर पढ्ने)को लागि चाहिने बाक्लो कागचको लागि महङ्गो पर्ने गरेको छ । विद्यालयमा भेटिएकि दृष्टिविहिन विद्यार्थी सन्ध्या मैनालीले दृष्टिविहिन विद्यार्थीहरुको  अध्ययनको लागि सहज वातावरण निर्माण गरेर विद्यालयले अनुकरणीय काम गरेको बताइन । उनले अरु (साधारण) विद्यार्थीहरुसंगै राखेर अध्ययन गराउदै आएकोमा कुनै पनि अप्ठ्यारो नभएको समेत  बताईन । उनले भनिन्– ‘सरले लेखेको कुरा बोलेर स्पष्ट पार्नु हुन्छ त्यती ग्राहे हुदैन ।
http://pathashalamasik.com/content/%E0%A4%B8%E0%A4%B9%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE%E0%A4%87%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%B5%E0%A4%BF%E0%A4%B9%E0%A5%80%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF
 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै